सुनसान बन्यो भद्रुटारको मिश्रापँधेरो चौतारी



नुवाकोट,असोज २४ ।  ‘पिङ’ दसैं तिहारसँगै जोडिएर आउने शब्द जस्तै भएको छ। पिङले दसैं तिहार पर्वको मौलिकता र रौनकतालाई अझै उचो बनाउँछ। तर पछिल्लो समय सहरमा मात्रै होइन गाउँमा समेत पिङ देखिन छाडेको छ।

एक दशकअघिसम्म भन्ज्याङ, चौतारी, गाउँ सहर जताततै दसैं अगावै देखिने लिंगे, पिर्के, जाते, लठ्ठे पिङ अब मुस्किलले देखिन थालेका छन्। यति मात्रै होइन चचहुई गर्दै पिङमा मच्चिदै खेल्ने युवायुवती तथा बालबालिका समेत देखिन मुस्किल भएको छ। 

बुढापाकाले दसैंको दिन त एकपटक धर्ती छोड्नलाई पनि पिङ खेल्नुपर्छ भनेर भन्थे। बुढापाकाले भनाइलाई सार्थक बनाउन युवापुस्ताले गाउँगाउँमा पिङ हाल्ने प्रचलन थियो। तर एक दशकयता दसैं तिहारमा पिङ हाल्ने प्रचलन निरन्तर घटिरहेको छ। जसका कारण गाउँघरमा न पिङ हाल्ने युवा छन्, न मच्चिदै खेल्ने पिङ नै छ।

वर्षेनी लिङ्गे पिङ थापिने पञ्चकन्या गाउँपालिका ५ स्थित मिश्रापधेरो यसपाली सुनसान बन्यो। कुनै समय चौतारी भरी मानिस भरिभराउ हुन्थे, पिङका अलवा लोकदोहोरी प्रतियोगिता समेत हुने स्थानमा यसबर्षदेखि यहाँ पिङ हाल्न छाडिएको छ। गाउँघर बसाईसराई तथा वैदेशिक रोजगारीले रित्तिदो छ। प्रायः बुढापाका मात्रै छन् गाउँमा। युवा सबै सहर बजार र विदेशमा छन्। गाउँमा पिङ नहुँदा दसैं खल्लो महशुस भएको ५५ बर्षीय रामबहादुर तामाङ बताउँछन्। उनी भन्छन्,  ‘पिङ नभएपछि त दसैं दसैं जस्तो नहुदो रै’छ। पिङ हुँदा कति रमाइलो हुन्थ्यो। अहिले खल्लो भइरहेको छ, पिङ नहुदा दसैंको महत्व कम भएको छ।’ 

उनका अनुसार मिश्रापधेरोमा सधैजसो चौतारीमा डोरी पिङ हालिन्थ्यो। डोरी पिङ नहाले पनि वरपर गाउँमा लिंगे पिङ हुन्थे। घर घरको आँगनमा बाँबियोको लठ्ठाले हालिएको पिङमा केटाकेटी झुम्मिएर दसैंदेखि तिहारसम्म खेलिरहन्थे। त्यो दृश्य पछिल्लो समय एकादेशको कथा जस्तै बनेको छ। भद्रुटारको साविक ९ वडामा भने यसवर्ष रोटेपिङ थापिएको छ । गाउँपालिकाले संस्कृति प्रवर्द्धनका लागि रु तीन लाख बजेट विनियोजन नै गरेर विभिन्न ठाउँमा लिङ्गे पिङ तथा रोटेपिङको ब्यवस्थापन गरेको हो।

गाउँमा युवाहरू नभएपछि शिवपुरी गाउँपालिका ७ गेरुवागाउँका युवाले ज्यालामा कामदार खटाएर पिङ हालेको छ। स्थानीयसंग २ देखि १० हजारसम्म संकलन गरेर पिङ हालेको शिक्षक अच्युतकुमार ठकुरीले बताए। ‘पछिल्लो समय पिङ हाल्ने सँस्कृति हराउदैँ गईरहेको छ। हामीले जगेर्ना गर्न आर्थिक संकलन गरेर ज्यालामा कामदार खटाएर पिङ हाल्यौँ’, उनले भने। जंगलबाट काठ काटेर ल्याएर पिङ ठड्याउनलाई धेरै जनशक्ति चाहिन्छ। तर, बसाईसराई, वैदेशिक रोजगारका कारण गाउँ सुनसान बनिरहेको छ।  

बडो कष्टपूर्ण तरिकाले जिल्लाका केही स्थानमा यसपालिको दसैंमा सँस्कृति जोगाउनकै निम्ति पिर्के पिङ हालिएको छ। एकाध स्थानमा लिंगे पिङ ठडिएको छ। जाते पिङ भने लोप भईसक्यो। सँस्कृति जोगाउनैका निम्ति हालिएका पिङ खेल्नेको संख्या पनि कम छ। खेल्न आउनेको प्रतिक्षामा बसेका छन् पिर्के र लिंगे पिङ। संस्कृति संरक्षण गर्ने गराउने कस्ले चिन्ताको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्