मकवानपुरको एउटै पालिकाबाट एक करोडको खसीबोका बिक्री



मकवानपुर,असोज २४ । वर्षको दसैँमा मकवानपुरमा एउटै स्थानीय तहबाट झन्डै एक करोड रुपियाँ बराबरको खसीबोका  बिक्रीका लागि काठमाडौँ पठाइएको छ । पूर्वी मकवानपुरको बागमती गाउँपालिकाका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत ९८ लाख रुपियाँभन्दा बढीको खसीबोका  बिक्री गरेर किसानको हातमा पैसा पुगेको हो ।

अनौपचारिक रूपमा समेत गरी बागमती गाउँपालिकाबाट एक करोड रुपियाँभन्दा बढीको खसीबोका  बिक्री गरी किसानले दसैँमा आम्दानी लिएको आकलन गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँलाई लक्षित गरी मकवानपुरको बागमती गाउँपालिका–८ बाट खसीबोका खरिद गरी काठमाडौँ लगेको छ । व्यापार कम्पनीले र बागमती गाउँपालिकाबिच दसैँमा पालिकाभित्र खसीबोका खरिद गर्ने गरी सम्झौता भए अनुसार यो वर्ष व्यापार कम्पनीले बागमती गाउँपालिकामा खरिद गरेको कम्पनीका वीरगन्ज शाखाका वरिष्ठ सहायक धर्मदेवप्रसाद यादवले जानकारी दिए ।

वरिष्ठ सहायक यादवले बागमती गाउँपालिकाको फापरबारीका किसानबाट दुई दिनमा ४८८ वटा खसीबोका खरिद गरेको बताउँदै त्यसबापत ९८ लाख रुपियाँभन्दा बढी भुक्तानी गरेको बताए । कम्पनीको वीरगन्ज शाखाले किसानबाट ७३ वटा साना, ३८९ वटा ठुला खसी र २६ वटा बोका खरिद गरेको थियो । 

यादवका अनुसार जिउँदो खसी २५ केजीभन्दा माथि तौलको प्रतिकेजी ६०५ रुपियाँ, २० देखि २५ केजी तौलसम्मको प्रतिकेजी ५८५ रुपियाँ र १८ केजी तौलभन्दा माथिको बोका प्रतिकेजी ५७० रुपियाँ दरमा किसानसँग खरिद गरिएको थियो । कम्पनीले किसानसँग खरिद गरेको जिउँदो खसीबोका उपभोक्तालाई प्रतिकेजी ६६० रुपियाँमा  बिक्री गर्दै आएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्