गुन्द्रुकदेखि मोबाइलसम्म हुलाकबाट



म्याग्दी, असोज २४ । कुनै समय सञ्चारको सबैभन्दा महत्त्वपूर्ण माध्यमका रूपमा रहेको हुलाक प्रविधिको विकाससँगै कामविहीन बनेपछि पार्सल तथा अन्य सामग्री सुपथ मूल्यमा ढुवानी गर्न थालेको छ । २० वर्षअघिसम्म निकै महत्त्व भएको हुलाक र हुलाकीको जिम्मेवारी र दायित्वमा अहिले परिवर्तन आएको छ । आधुनिक प्रविधिको विकासले सञ्चारका लागि अन्य सामाजिक सञ्जाल तथा फोनको प्रयोग बढ्न थालेपछि हुलाकले दिने सेवामा परिवर्तन आएको हो । 

केही समयअघि म्याग्दीको हुलाक कार्यालयबाट एक सेवाग्राहीले बागलुङ गलकोटमा रहेका आफन्तलाई कोसेलीका रूपमा गुन्द्रुक पठाए । त्यस्तै अर्का सेवाग्राहीले कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा रहेका आफन्तका लागि हुलाकबाटै मोबाइल फोन पठाइदिए । पछिल्लो समयमा दैनिक उपभोग्य सामग्रीका साथै विद्युतीय सामग्री पनि हुलाकमार्फत नै पठाउने गरिन्छ । हुलाकले सामान विश्वासिलो तवरले पु-याउने गरेको सेवाग्राही बताउँछन् । 

अहिले हुलाकले रूपान्तरित सेवा अन्तर्गत इकमर्सको अवधारणालाई पनि अङ्गीकार गरेको छ । राज्यले गैरकानुनी घोषित गरेका बाहेक अन्य सबै प्रकारका सामग्री सम्बन्धित व्यक्तिसमक्ष पु¥याउने काम हुलाकले गर्दै आएको छ । अचेल चिठीपत्र, सरकारी महत्त्वपूर्ण कागजातका साथै खाद्यान्न सामग्री लत्ताकपडा, मोबाइल, औषधीलगायत मालसामानसमेत पठाउने गरेको छ । 

हुलाकको सेवा विगतमा भन्दा फेरिएको जिल्ला हुलाक कार्यालय म्याग्दीका निमित्त प्रमुख रमेश अधिकारीको भनाइ छ । उनले भने, “किचनदेखि व्यक्तिगत प्रयोग हुने सामान पठाउने गरिन्छ । अहिले चिठीपत्र मात्रै होइन, सामान ढुवानीको माध्यम पनि हुलाक बनेको छ ।”

विगतमा हुलाकमा व्यक्तिगत चिठीबाहेक सरकारी चिठीपत्र, अदालती कागजपत्र तथा विदेश जाने युवाको कागजपत्रको ओसारपसार धेरै हुने भए पनि अहिले सेवा विस्तार भएपछि निजी कुरियर सेवा प्रयोग गर्ने सर्वसाधारणले हुलाकबाटै सेवा लिने गरेको उनले बताए ।

निमित्त कार्यालय प्रमुख अधिकारीका अनुसार सस्तो खर्चमा छिटो पुग्ने, हराउने सम्भावना न्यून हुने भएकाले व्यक्तिगत चिठीभन्दा पनि सामान ओसारपसार तथा विदेश जान द्रुत डाँक सेवा (इएमएस सेवा) का लागि मानिसले हुलाकको पछिल्लो समय धेरै प्रयोग गर्ने गरेका छन् । हुलाकबाट सामान पठाउँदा र मगाउँदा पनि निजी कुरियरभन्दा धेरै सस्तो र सहज हुने भएकाले एक पटक सेवा लिएकाले पटक पटक सेवा लिने उनको भनाइ छ । नेपाल सरकारले हुलाकको संरचना परिवर्तन गर्ने निर्णयको देशभरमै पहिलो पटक म्याग्दीमा कार्यान्वयन भएको थियो । 

म्याग्दीमा बेनी नगरपालिकाबाहेक पाँच वटै स्थानीय तहमा २४ घण्टामै एक पालिका एक हुलाक कायम गर्ने गरी हुलाकको सङ्गठन संरचना परिवर्तन गरिएको प्रमुख अधिकारीको भनाइ छ । अन्य जिल्लामा नयाँ संरचना लागु गर्न निकै सकस भइरहेको छ भने म्याग्दीमा स्थानीय तहले नै सघाएपछि सहज भएको हो ।

म्याग्दीबाट नेपालका जुनसुकै ठाउँमा पनि निजी कुरियर कम्पनीले भन्दा तीन गुणा सस्तोमा दुई÷तीन दिनभित्र सामान पठाउन सकिने हुलाक कार्यालयले जनाएको छ । त्यस्तै विदेशबाट पठाएको समान पनि दुई साताभित्र नै घरदैलोमै पुग्ने र सामान कहाँ पुगेको छ भनेर ट्र्याकिङसमेत गर्न सकिने भएकाले अहिले हुलाकबाटै सेवा लिनेको सङ्ख्या बढ्दै जान थालेको छ ।गत वर्ष म्याग्दीबाट चिठीपत्रसहित पार्सल गरी २५ हजार सेवाग्राहीले सेवा लिएको हुलाक कार्यालय म्याग्दीका सूचना अधिकारी सम्झना भण्डारीको भनाइ छ । यसै साता १५० औँ विश्व हुलाक दिवस मनाउने व्रmममा व्यक्तिगत, सरकारी चिठी आदानप्रदान मात्रै नभई थपिएका सेवाबारे समेत प्रचारप्रसार गरिने सूचना अधिकारी भण्डारीले जानकारी दिनुभयो । स्थानीय तह, सङ्घ संस्थासहित व्यक्तिगत सक्रियता बढाउँदै आधुनिक सेवाबारे जानकारी मात्रै पाए पनि सेवा लिनेको सङ्ख्या अहिलेको तुलनामा दोब्बर बढी हुने अपेक्षा गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्