बाली जोगाउन नवलपुरका किसानको बारीमै बास



नवलपुर, असोज २४ ।  बिहानै एक जना बारीमा जाने, खाना खानका लागि अर्को सदस्यले पालो दिने र दिनभरि फेरि अर्को एक जनाले बारी कुर्ने यहाँका किसानको दैनिकी हो । घरमा परिवारका धेरै सदस्य हुनेलाई त पालैपालो बारी कुर्न त्यत्ति गाह्रो भएन तर थोरै सदस्य भएकालाई भने खाना खाने फुर्सद पनि हुँदैन ।

बाँदरबाट बाली बचाउन नवलपुरको बौदीकालीका किसानले दिनभरि बारी कुर्नुपर्ने बाध्यता छ । “आँखा झिमिक्क पा¥यो कि एकैछिनमा आएर स्वाहा पार्दिहाल्छ । बाँदर आतङ्कले आजित भइसक्यौँ,” डेढगाउँका किसान टकबहादुर कार्की क्षेत्रीले भने, “बारीमा जे लगाए पनि बाँदरले नोक्सान गर्ने गरेको छ । एकैछिन घरमा कोही भएन भने सुली (थाङ्ग्रो) बाट मकै लैजान्छ । घरमा मान्छे नभएको गन्ध थाहा पायो भने त धन्सारबाटै अन्न बाली लैजान्छ । हाम्रो त घरमा बुढाबुढी मात्र छौँ, खाना खाने पालो पाउन पनि गाह्रो छ । बाली जोगाउन धेरै गाह्रो भयो ।”

यहाँका किसानले बाँदरबाट जोगाउन अन्नबालीको सट्टा फलफूल खेती पनि गरे तर फलफूल पनि नष्ट गरिदिन थालेपछि विकल्पविहीन भएका छन् । “उज्यालो भएदेखि रातिसम्म एक जनाले बारी छोड्नै हुन्न । खाना पनि पालैपालो गरेर खानुपर्ने बाध्यता छ, भर्खर लगाएको मकै खोस्रेर दाना नै खाइदिन्छ । उम्रेपछि माडेर सिध्याइदिन्छ,” अर्का किसान मनोज कोइरालाले भने ।

नियन्त्रणको उपाय खोज्न समिति

बजारभन्दा बौदीकाली माथिल्लो भेगमा बाँदर आतङ्क बढी छ । बाँदरले धेरै नै दुःख दिन थालेपछि गाउँपालिकाले नियन्त्रणका उपाय खोज्न वन वातावरण समितिका संयोजकसमेत रहनुभएका वडा नं. ४ का अध्यक्ष मनबहादुर सारूको नेतृत्वमा अध्ययन टोली नै बनायो तर विभिन्न क्षेत्रको अध्ययन र विज्ञसँगको छलफलपछि अध्ययन टोली पनि बाँदर नियन्त्रणका उपाय खोज्न असफल भएको छ ।

“हामीले धेरैतिर बुझ्यौँ । छलफल ग¥यौँ तर केही उपाय लागेन । मार्न पनि नपाइने, पहिले पहिले त भरुवा बन्दुक पड्काएर तर्साउँदा भाग्थ्यो । अहिले त त्यो पनि पड्काउन नपाइने, हामीले त कुनै विकल्प दिन सकेनौँ,” अध्ययन टोलीका संयोजक सारूले भने । हुलका हुल आएर यहाँका किसानलाई बाँदरले आतङ्कित बनाएको उहाँको भनाइ छ । “गहतबाहेक धान, मकै, कोदो, आलु, बोडी, सिमी, केरा सबै खाइदिएर सोत्तर पार्छ,” सारूले भन्नुभयो, “अहिले त झन् बाँदर मात्र नभएर चितुवा, मृग र बँदेलले पनि दुःख दिन थालेका छन् ।”

बसाइँसराइले थप समस्या

गाउँबाट मानिस सुख खोज्दै सहर झर्दा गाउँमा बाँदर आतङ्क बढेको गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताए । “बसाइँसराइ नहुँदा माथि जङ्गलको छेउसम्म बस्ती थियो । अहिले बसाइँसराइले बस्ती रित्तिँदै गयो । बाँदर गाउँसम्मै आयो,” अध्यक्ष ओझाले भने । 

गाउँमा शैक्षिक गुणस्तर, स्वास्थ्यमा शुलभता र रोजगारीको अवसर नहुँदा बसाइँसराइ बढ्दै गएको उनको भनाइ छ । बसाइँसराइ रोक्न आयआर्जनमा केन्द्रित हुँदै शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउने आफूहरूको प्रयास जारी रहेको ओझाले बताए। 

“कृषिलाई आधार मानेर कृषिजन्य सामग्रीको प्रवर्धनमा जोड दिएका छौँ,” अध्यक्ष ओझाले भने, “कृषिमा आधारित निर्यातमुखी अर्थतन्त्रको निर्माण गर्ने गाउँपालिकाको नीति रहेको छ । यो गर्न सकियो भने बसाइँसराइ पनि रोकिन्छ र बाँदर आतङ्कबाट पनि डराउनु पर्दैन ।”

प्रतिक्रिया दिनुहोस्