दशैंमा घर जाने यात्रुलाई सास्ती



काठमाडौ,असोज २४ । काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधनमा यातायात व्यवसायीले क्षमताको दोब्बर यात्रु राखेर जोखिमपूर्ण यात्रा गराएपछि दशैंका लागि घर जाने यात्रुले सास्ती खेप्नुपरेको छ । ना ४ ख ३५५३ नम्बरको रात्रिबस मंगलवार काठमाडौंबाट धनगढीका लागि क्षमताको दोब्बर यात्रु बोकेर गोंगबु बसपार्कबाट बाहिरियो । त्यसका यात्रुले बसपार्कभित्र रहेको धनगढी टिकट काउन्टरबाट टिकट काटेका थिए । टिकट लिएकामध्ये आधा यात्रुले सीट पाएनन् ।

सीट नपाएपछि यात्रुले सवारीधनी र बसपार्कका प्रहरीलाई टिकटको पैसा फिर्ता गराइदिन आग्रह गरे पनि यात्रुको मागको सुनुवाइ भएन । यात्रुहरू लामो समय उभिएरै यात्रा गर्न बाध्य भए । सोही बसले कलंकीमा केही यात्रु चढायो र नागढुंगामा पनि प्रहरीकै अगाडि ५ जना यात्रु चढायो । ४५ सीट क्षमताको बसमा २०–२२ जनाले उभिएरै यात्रा गरिरहेका थिए । बस धार्के पुगेपछि सवारीधनीले बसको डिक्कीभित्र राखेका मुढा झिकेर उभिएका यात्रुलाई बस्न लगाए । कतिपय यात्रु अझै पनि आफ्नो पैसा फिर्ता गरिदिन सवारीधनीसँग आग्रह गरिरहेका थिए । उनीहरू ‘दशैंका बेला यस्तै हो सबै जना मिलेर जानुपर्छ’ भन्दै यात्रुलाई फकाइरहेका थिए ।

सवारीधनीले यात्रुसँग तोकिएको दरभन्दा बढी भाडा लिएर पनि सुरक्षित यात्रा नगराएको भन्दै केही बेर यात्रु आक्रोशितसमेत बनेका थिए । काठमाडौं–धनगढीको भाडा २ हजार ५०० रुपैयाँ हो । तर, उक्त बसले सबै यात्रुसँग २ हजार ८०० देखि ३ हजार रुपैयाँसम्म असुलेको थियो । बसमा सवार यात्रुमध्येका एक रोहित अधिकारीले आफू धनगढीभन्दा ८७ किलोमीटर वरै चिसापानी भन्ने स्थानमा ओर्लने भए पनि भाडा २ हजार ८०० रुपैयाँ नै तिर्नु परेको बताए ।

सवारीधनी दिलबहादुुर रावलले दशैंको समय भएकाले र विभिन्न ठाउँँमा राजमार्ग अवरुद्ध भएकाले सवारीसाधनको अभावमा क्षमताभन्दा बढी यात्रु चढाउनुपर्ने बाध्यता रहेको बताए ।

‘सामान्य अवस्थाको जस्तो छैन । दशैंका बेला सबै यात्रुलाई घर जानुुपर्ने हुन्छ । सबैलाई मिलाएर लैजान खोज्दा यात्रुको चाप बढेको हो,’ उनले भने, ‘राजमार्गमा गाडीको चापका कारण बस समयमा गन्तव्यमा पुग्न नसक्ने भएकाले भाडा पनि केही बढी लिएका छौं ।’

सूदूरपश्चिमतर्फ जाने अधिकांश सवारीमा यात्रुको चाप अत्यधिक रहेका कारण कतिपय सवारीसाधनले दुई जनाको सीटमा तीन जनासम्म यात्रु राखेर जोखिमपूर्ण यात्रा गराइरहेका छन् ।

३५५३ नम्बरको उक्त बसले दुई जनाको सीटमा तीन जनासम्म राखेर यात्रा गराएको थियो । यस विषयमा टिप्पणी गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले दशैंको समयमा गाडी अपुग हुँदा यस्तो समस्या आएको बताए ।

‘दशैंको समयमा सधैं नै गाडीको अभाव हुन्छ । तर, यस वर्ष यात्रु बोकेर गन्तव्यमा पुगेका गाडीहरू समयमा नफिर्दा यस्तो समस्या बढेको छ । अरू वर्ष यस्तो भीड हुँदैनथ्यो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्