दसैँमा मौसम कस्तो रहला ? यस्तो छ पूर्वानुमान



काठमाडौ,असोज २३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार यसपालिको दसैँ विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ। बुलेटिनमा कोशी, मधेस र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ।  

उक्त बुलेटिनअनुसार यस वर्ष दसैँको सप्तमी (२४ गते), अष्टमी-नवमी (२५ गते) र दशमी (२६ गते) का दिनमा कोशी प्रदेश र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाइएको छ। 

विभागले कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने अनुमान गरेको छ।

बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। उक्त दिनहरूमा अधिकांश स्थानमा अधिकतम तथा न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए । उनले ठुलो पानी पर्ने सम्भावना भने नरहेको बताए । मौसम पूर्वानुमान महाशाखाबाट जारी गरिने तीनदिने मौसम पूर्वानुमानमा यससम्बन्धी जानकारी अद्यावधिक गरिने भएकाले महाशाखाको ‘वेबसाइट’ हेर्न अनुरोध गरिएको छ।

यस वर्षको मनसुन हिजो मङ्गलबार देखिनै काठमाडौँ उपत्यकासहित कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका सम्पूर्ण भू-भागबाट बाहिरिइसकेको छ। महाशाखाका अनुसार बागमती प्रदेशको पश्चिमी भू-भाग र मधेस प्रदेशका पश्चिमी भू-भागका थोरै स्थानबाट पनि मनसुन बहिर्गमन भएको छ। हाल कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव बाँकी छ। 

प्रतिक्रिया दिनुहोस्