दशैं बिदामा कस्ता कस्ता पुस्तकहरु पढ्ने ?
काठमाडौं,असोज २३ । यति बेला मौसमले बर्षातलाई बिदा गरेर शरदलाई आगनमा निम्त्याएको छ । हावामा फैलिएको दशैको वासना पछ्याउँदै रहर, सपना र बाध्यता खोज्न घर गाउँ र देशै छोडेर प्रदेशिएका प्रदेशीहरु पनि फर्किएका छन, आफ्नै थलोमा ।
स्वदेशमै सरकारी तथा निजी क्षेत्रमा व्यस्त जीवन बिताइरहेका व्यक्तिहरु पनि जन्मथाले फर्किन उत्साहित छन् । केही त आफ्नो गन्तव्यमा पुगिसकेका छन् । यो वर्षको दशैं पनि बिहीबारदेखि सुरु भएको छ । दशैं बिदालाई विशेष पर्वको रुपमा मात्र लिँइदैन, बर्ष भरीका बोझ र दुख बिसाउने समय हो ।
परिवार आफ्न्त र साथीभाइ सँग रमाउने बेला यति मात्र नभई आफ्नो लागि थोरै समय खर्चिने बेला । बिदामा केही घुमघाम गर्न रुचाउँछन्, केही घरायसी, काम सिक्ने तथा गाउँघरमै रमाउने प्रचलन पनि छन् । कतिले यही बेलामा नयाँ नयाँ पुस्तकहरु पढ्न पनि उत्तिकै रुचाउछन् । कतिले यो दशैं बिदामा नै पुस्तक पढ्ने योजना बनाएका हुन्छन् । यो दशैको बेलामा आफ्नो लागि समय दिने, केही पढ्ने सोच्नु भएको छ भने यी दश पुस्तक तपाईंका लागि हुन सक्छन् ।
१. नयाँ घर– आहुती
नयाँ घर एउटा पुस्तकमात्र नभई नेपालको कम्युनिस्ट आन्दोलन प्रति चासो राख्नेहरुको लागि एक नयाँ आयम बन्न सक्छ । यश पुस्तकले नेपालको कम्युनिस्ट आन्दोलनको ऐतिहासिक तस्बिरलाई कैद गर्ने प्रयत्न गरेको छ । यस उपन्यासलाई प्रतिनिधित्व गर्ने दुई मुख्य पात्रहरु ब्यक्तिगत सम्पत्ति, निजि स्वार्थ पारिवारीक जिन्दगीको घेरा तोडेर नयाँ जिन्दगीको खोजीमा निस्किएका छन । तपाईंले खोजेको दुनियाँ कस्तो हो ? र यसलाई बदल्न तपाईं के गर्न साक्नु हुन्छ ? पुस्तक पढ्दा जवाफ भेटिन्छ।
२. आमा– मेक्सिम गोर्की
मेकिस्म गोर्कीको यो उपन्यास एउटा उपन्यास मात्र नभई एउटा ऐतिहासिक दस्तावेज भन्दा फरक नपर्ला । मजदुरहरुले मे दिवसमा जुलुस निकलेकै भरमा सजाएअ पाएका मजदुरहरुको वास्तविक घटनामा आधारित छ यो उपन्यास ।आमा अर्थात पेलागेया निलोभ्नाको एउटा आम आमा देखि क्रान्तिकारी नेतासम्मको यात्रा हो । सन ज्ञढण्छ को क्रान्तिपुर्ब रुसीमजदुरको जीवन संघर्षको वृतचित्र हो। आफ्नो दयनीय जीवन बदल्न प्रयत्न गर्नेहरुको लागि प्रेरणा बन्न सक्छ ।
३. भुईयाँ–यज्ञश
भुईँयाँ समग्रमा भुइँ मान्छेहरुको कथा हो । सामान्यतया जीवन र जमिनको लडाइँ लड्नेहरुको कथा । जमिनको असमान र असन्तुलित बितरणको मारमा च्यापीएका भुदास, किसान र आम मानिसहरुको कथा । यी कथाहरु पढ्दा लाग्छ जमिन नहुनु भनेको जीवन नै नहुनु सरह हो । औसत जीवनको लडाइँ हरेक दिन लड्ने मानिसहरु कस्ता हुन्छन ? यो पुस्तक भित्रका कथाले कहन्छन।
४.भोल्गादेखी गंगासम्म – राहुल साङ्कृत्यायन
आज हामी जुन समाजमा बाँचेका छौ यो समाज सुरुमै यस्तो थिएन । आजको समयसम्म आइपुग्न मानव जातीले विभिन्न काल खण्डमा विविध संघर्ष गरेको छ । तिनै संघर्षका कथाहरुको संगालो हो भोलगादेखी गंगासम्म । भोल्गाको तट देखि गंगा मैदान सम्म आइपुग्दा आर्य जातीहरुले कसरी देवि देउता बनाए ? कालन्तरमा स्वर्ग र नर्कको सृजना गरे ? तत्कालीन राज्यव्यवस्था कायम राख्न कसरी बेदका ऋचाहरु रचे? यहाँ भित्र समेटीएका कथाहरु कथा कम र इतिहास बढी हुन । समग्रमा यो पुस्तक प्रारम्भिक काल देखि आज सम्मको समाज विकासको भौतिकवादी व्याख्या हो ।
५.मानव समाज– राहुल साङ्कृत्यायन
भोल्गा देखि गंगासम्म पढीसके पछि छ्टाउनै नमिल्ने अर्को पुस्तक हो मानव समाज। श्रमले मानव जीवनकोमा खेलेको भुमिकाका साथै आज बाँचेको समाजको बिकासक्रम यस पुस्तकले समेट्छ । मानव समाजको प्रगतिको सैद्धान्तिक विवेचना यस पुस्तकले गर्छ ।
६. सोफिज वर्ल्ड – जास्टिन गार्डर
सोफिज वर्ल्ड एउटा अङ्ग्रेजी उपन्यास हो । यदी तपाईंलाई दर्शनशास्त्र संबंधी चासो छ भने यो तपाईंको पहिलो रोजाइ हुन सक्छ । सरल सहज तरिकाले पाश्चात्य दर्शन बुझाउने एक दमदार उपन्यास। उपन्यासको प्रारम्भ १४ बर्षिय सोफीले पाएको रहस्यमय चिट्ठीबाट हुन्छ जसमा लेखिएको हुन्छ; सोफी तिमी को हौ? यसको उत्तर के हो? चिट्ठी कसले लेख्यो पढेर भन्नुस है ।
७. चुल्ठो – कल्पना चिलुवाल
कल्पना चिलुवालको कविता संग्रह चुल्ठो फगत शब्दहरुको भण्डारले बनेको किताबमात्र बिल्कुल होइन । यो त बिचारको संग्रह हो । कुण्ठित र अव्यक्त प्रश्नहरुको जवाफ हो । समकालीन समाजमाथी गरिएको प्रश्न हो। कबिता भावनामात्र नभई बिचार सहितको बिद्रोह हो । कविता पढ्दै गर्दा लाग्छ मानौ कविताहरु नै मसाल बोकेर जुलुसमा निस्की रहेछन् ।
८. अग्नि– नवराज लम्साल
अग्नि २०७८ को मदन पुरस्कर बिजेता महाकाव्य हो । इतिहास जहिले पनि जित्नेहरुको बन्यो । जिताउनेहरु सधै उझेलमा परीरहे, तिनै इतिहास को गर्वमा बिलिन भएका र जात व्यवस्थाले थिलो थिलो पारेकाहरुको कथा। अझ भनौ आरनको कथा आरनमात्र नभई मुक्ति पर्खी रहेकाहरुको कथा।
९. इकिगाइ–हेक्टर गार्सिया– फ्रान्ससेक मिरालेस
इकिगाइ जापानी अवधारणामा आधारित किताब हो । जीवनमा किताब नै पढ्दिन भन्नेहरुले पनि एकचोटी पढ्नै पर्ने किताब हो । यस पुस्तकले लामो, स्वस्थ र खुसहाल जिन्दगीको रहस्य पत्ता लगाउन मदत गर्छ। इकिगाइ जापानी शब्द हो जसको नेपाली अर्थ जीवन ’बाच्नुको अर्थ’ भन्ने हुन्छ । आफू बाँच्नुको अर्थ (उद्देश ) भेटाउनु नै आफ्नो इकिगाइ पाउनु हो ।
१०. द साइकोलोजी अफ मनि – मोर्गन हुजल
संसारमा केही यस्तो चिज छैन, जसको मुल्य चुकाउन नपरोस । हरेको चिजको मूल्य छ र हामीले त्यस्को मुल्य चाहेर नचाहेर तिर्नै पर्छ । तर, कहिले पनि मान्छेलाई पुग्दैन र प्रयाप्त भन्ने हुदैन । मानिसको जीवनमा पैसाको आवश्यकता भएसँगै यसलाई चलाउने सीप पनि आवश्यक छ भन्ने विषयमा ‘द साइकोलोजी अफ मनि’ले प्रष्ट पार्छ । यो पुस्तकले मानवीय स्वभाव र पैसाको बारेमा कुरा गर्छ । मानवीय भावना र पैसाको संमन्ध कस्तो हुनुपर्छ भन्ने बिसयमा प्रष्ट पार्छ । आर्थिक व्यवस्थापन सिक्नका लागि पढ्न नछुटाउनु होला ।
११. द वल्ड फर सेल
कसरी मुठ्ठीभर मान्छेहरूले संसारको श्रोतको दोहन गरेर धनी बनेका छन् ? त्यसका लागि कसरी शक्तिको प्रयोग गर्छन र त्यसबाट फेरी कसरी शक्ति आर्जन गर्छन ? यस्ता विषयमा थाहा पाउन उपयोगी किताब द वल्ड फर सेल एकदमै उपयुक्त हुनेछ ।
१२. वैकल्पिक अर्थतन्त्र- हरि रोका
राजनीतिक अर्थशास्त्रमा रुची हुनेहरुका लागि पढ्नैपर्ने पुस्तक हो “वैकल्पिक अर्थतन्त्र“ । विश्लेषक तथा अर्थशास्त्री हरि रोकाद्वारा लिखित यो पुस्तक अर्थतन्त्रमा पटकपटक आइरहने संकटका जरा कहाँ छन् ? नवउदारवादी आर्थिक नीतिले निम्त्याएका परिणाम के–के हुन् ? नेपाली अर्थतन्त्रले लिनुपर्ने संरचनागत परिवर्तनको बाटो कता हो ? नेपालको कर प्रणाली कस्तो छ ? वैकल्पिक आर्थिक नीति के हो ? नेपालमा सहकारी आन्दोलन र कृषि सहकारीको अवस्था के कस्तो छ ? यसैगरी कृषिको सहकारीकरण, खाद्य सुरक्षा, नेपाल उद्योग नीति असफल हुनुका कारण र बैंकिङ प्रणालीमा आउने समस्या लगायतका विषय विषयमा तपाईं जान्न चाहनुहुन्छ भने यो पुस्तक अत्यन्तै उपयोगी हुनेछ ।
१३. विश्वका जन–इतिहास –लेखक क्रिस हरमन, अनुवादकः लालबहादुर बर्मा
यदि कसैलाई यो समाज कसरी बदलियो, विकसित भयो र आगामी शताब्दीहरुमा त्यसको दिशा कस्तो हुनेछ भन्ने कुरामा जिज्ञासा छ भने विश्वका जन–इतिहास किताबको अध्ययन जरुरी छ । वर्तमानमा इतिहासका जुन पुस्तकहरुले पाठकहरुको ध्यान आकर्षित गरेका छन्, तीमध्ये क्रिस हर्मनको यो पुस्तक अद्वितीय छ । इतिहासका विभिन्न कालखण्डहरुको ब्याख्या र विश्व घटना प्रवाहलाई सही सन्दर्भहरुमा हेर्ने यसको शैलीका कारण अध्येताहरुका लागि यो पुस्तक अपरिहार्य छ ।
दशैं, तिहार र छठजस्ता लामो पर्व विदाको अवसरलाई सदुपयोग गर्नका लागि राजनीतिक अर्थशास्त्र, माक्सवादी अध्ययन पाठ्यक्रम, राजनीतिक अर्थशास्त्र के मूलभूत सिद्धान्त, गुड इकोनामिक्स फर हार्ड टाइम्स, राजनीतिक अर्थशास्त्रको हाते किताब, अर्थ राजनीतिक विमर्श, पुँजीवाद: भ्रम वास्तविकता र तथ्य, माक्सवादी अर्थशास्त्र, पृष्ठभूमि, उद्भव र विकास जस्ता पुस्तकहरु पढ्न सकिनेछ ।
यस्तै, दर्शनशास्त्रको अध्ययनमा रुची राख्नेहरुका लागि नेपाली दर्शन , चिनियाँ दर्शन, माक्र्सवादी दर्शन, दर्शन दिग्दर्शन दर्शनशास्त्रको प्रारम्भिक ज्ञान, हिमाली दर्शन, भारतीय दर्शनमा के जीवित र के मृत छ, नेपाली लोकदर्शन, पौरस्त्य दर्शनमा भौतिकवाद बुद्ध दर्शन: सरल अध्ययन जस्ता पुस्तकहरु पढ्न सकिने छ ।
यस बाहेक युवा पुस्ताहरुले भने दशैं बिदामा सुविन भट्टराईका समर लभ, इजोरिया, युधिर थापाको सिस्टर कल्पना, अश्विनी कोइरालाको जुकरबर्ग क्याफे, मिलन संग्रौलाको पर्पला, पारिजातको बैंशको मान्छे पढ्न सक्नेछन् । यस्तै, तारिणीप्रसाद कोइरालाको सर्पदंश, अमर न्यौपानेको करोडौं कस्तुरी, लक्ष्मी उप्रेतीको फ्लासब्याकमा जिन्दगी, अमर न्यौपानेकै सेतो धरती, आनी छोइङ डोल्माको फूलको आँखामा, प्रगति राइको लेखककी स्वास्नी लगायतका पुस्तकहरु अध्ययन गर्न सक्नेछन् ।