अभ्यास खेलमा नेपाल विजयी
काठमाडौ,असोज २३ । अमेरिकामा हुने आसन्न आइसिसी विश्वकप लिग–२ सिरिजको तयारीका लागि क्यानडामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडा हाइपर्फर्मेन्स टिम (एचपी)लाई हराएको छ । चौथो अभ्यास खेलमा बुधबार बिहान नेपालले एचपीलाई दुई विकेटले हराएको हो ।
जितका लागि एक सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले ४६.२ ओभरमा आठ विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालका लागि ओपनर अनिल शाहले ७३ बलमा ५९ रन बनाए । यस्तै आरिफ शेखले ३४ र कुशल मल्लले ३० रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको एचपीले ४७.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ९४ रन बनाएको थियो । एचपीका लागि ओपनर मिहार पटेलले ७२ तथा खाएविर खानले २८ रन बनाए ।
बलिङमा नेपालका कुशल भुर्तेलले तीन विकेट लिए । करण केसी र सागर ढकालले दुई दुई तथा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट झारे । नेपाल क्यानडाबाटै लिग–२ सिरिज खेल्न अमेरिका जानेछ ।