दशैंमा घर जाने यात्रुलाई सास्ती गन्तव्यमा पुग्न ३ गुणा समय
काठमाडौं,असोज २३ । दशैं मनाउन काठमाडौंबाट बर्दियाको शान्ति बजारका लागि शुक्रवार दिउँसो ३ बजे गोंगबु बसपार्कबाट बस चढेका यात्रु समीरजंग खड्का करीब ५० घण्टाको यात्रापछि गन्तव्यमा पुग्न सफल भए । काठमाडौंबाट शान्ति बजारसम्मको दूरी ५९४ किलोमीटर छ । ‘सामान्य अवस्थामा यो दूरी पार गर्न करीब १८ घण्टा लाग्ने भए पनि विभिन्न ठाउँमा राजमार्ग अवरुद्ध भएको र गाडीको अत्यधिक चापका कारण ट्राफिक जाम भई समयमै गन्तव्यमा पुग्न नसकिएको खड्काले टेलिफोन संवादमा बताए ।
‘म काठमाडौंबाट मुग्लिन नपुग्दै दाउन्नेमा बाटो भासिएको खबर आयो । गाडीहरू मुग्लिनमै जाममा परे । राति करीब २ बजेतिर राजमार्ग एकतर्फी खुलेको सूचना पाइयो । हामी चढेको गाडी दाउन्ने नपुग्दै फेरि बिहान ५ बजे दाउन्नेकै अर्को ठाउँमा बाटो भासियो,’ उनले आर्थिक अभियानसँग भने, ‘त्यसपछि बाटो खुल्न करीब ५/६ घण्टा लाग्यो । त्यसपछि पनि विभिन्न ठाउँमा गाडीहरूको चाप र जामका कारण गन्तव्यमा पुग्न ५० घण्टाको यात्रा तय गर्नुपर्यो । यसअघि कहिल्यै पनि यति समय लागेको थिएन ।’
दशैं मनाउन काठमाडौंबाट घर जाने अधिकांश यात्रुले अहिले यस्तो समस्या भोगिरहेका छन् । गत हप्ताको बाढीपहिरोका कारण अवरुद्ध राजमार्गहरू अझै पूर्णरूपमा खुलेका छैनन् । कतिपय ठाउँमा अहिले पनि सडक भासिने र सुक्खा पहिरो आउनेजस्ता समस्या कायमै रहेकाले सास्ती खेप्नु परेको यात्रुको अनुभव छ ।
सडक विभागका अनुसार बिपी राजमार्ग, कान्ति लोकपथ, काठमाडौं–फर्पिङ–सिस्नेरी–हेटौंडा र काठमाडौं–फर्पिङ–फाखेल–हेटौंडा गरी चार सडक अझै पनि अवरुद्ध छन् । नागढुंगा–मुग्लिन र मुग्लिन–नारायराणगढ सडक पूर्णरूपमा अवरुद्ध नभए पनि यस खण्डमा यात्रु र सवारीसाधनको चाप अत्यधिक छ ।
विशेषगरी फूलपातीसम्मै दशैं मनाउन उपत्यकाबाट बाहिरिने यात्रुको आवतजावत बढी हुने भएकाले राजमार्गमा सवारीसाधन बढी हुने र यो उपत्यका भित्रिने र बाहिरिने मुख्य सडक भएकाले पनि चाप बढी भएको विभागका प्रवक्ता उमेशविन्दु श्रेष्ठले बताए । उनका अनुसार अन्य सडकहरू अवरुद्ध रहेका कारण यात्रुले वैकल्पिक मार्गका रूपमा नागढुंगा–मुग्लिन र मुग्लिन–नारायराणगढ सडक प्रयोग गरेकाले पनि त्यहाँ चाप बढेको हो ।विभागका अनुसार अहिले पनि बिपी राजमार्ग, कान्ति लोकपथ, अरनिको राजमार्ग, पुष्पलाल राजमार्ग र त्रिभुवन राजपथलगायत करीब ३० ठाउँमा सडक अवरुद्ध छ ।
अग्रिम टिकट पाउनै मुश्किल
सरकार र यातायात व्यवसायीहरूको समन्वयमा गत असोज १२ देखि अग्रिम टिकट बुकिङ खुला गरिएको थियो । तर, दशैं मनाउन घर जाने यात्रुले अग्रिम टिकट नपाएको गुनासो बढेको छ । पाइहालेमा पनि यातायात व्यवसायीले चर्को भाडा असुल्ने गरेको पाइएको छ ।
आइतवार बिहान गोंगबु बसपार्कमा कैलालीको धनगढीका लागि अग्रिम टिकट किन्न आएका श्यामकुमार ओझाले टिकट नपाएको बताए । आइतवारका लागि टिकट पाइए पनि २२, २३ र २४ गतेको टिकट नपाइएको उनको गुनासो छ ।
यसबारे बसपार्कभित्र रहेको सुदूरपश्चिम टिकट काउन्टरमा बुझ्दा काउन्टरका अधिकारीहरूले धनगढीबाट काठमाडौं फर्केर आउने बस कतिबेला आइपुग्छ भन्ने निश्चित नभएकाले आफूहरूले टिकट नबेचेको बताए ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले पनि परिस्थिति हेरेर मात्रै यात्रुलाई टिकट बेच्ने काम भइरहेको बताए ।
‘विभिन्न स्थानमा सडक अवरुद्ध भएका कारण यताबाट छुटेका बस उताबाट कहिले काठमाडौं आइपुग्छन् भन्ने निश्चित नै छैन । त्यसकारण उताबाट बस काठमाडौं आइपुगेपछि मात्रै यात्रुलाई टिकट बेच्ने गरिएको छ । हामीले यात्रुलाई टिकट बेच्यौं तर बस आएन भने यात्रुहरू अलपत्र पर्छन्,’ उनले भने ।
यसअघि राजमार्ग अवरुद्ध भएका कारण सवारीसाधन समयमै गन्तव्यमा पुग्न नसक्ने भन्दै व्यवसायीले अग्रिम टिकट बुकिङ रोक्न सरकारसँग माग गरेका थिए । त्यसपछि विभाग, व्यवसायी र ट्राफिक प्रहरीको बैठकले परिस्थिति हेरेर टिकट बेच्न पाइने निर्णय गरेपछि बुकिङ रोक्ने मागबाट व्यवसायी पछि हटेर बुकिङ जारी राखेका थिए ।
टिकट पाएका यात्रुले पनि सामान्य अवस्थाको भन्दा ४०० रुपैयाँसम्म बढी भाडा तिरेर टिकट किन्नुपर्ने बाध्यता छ । सामान्य अवस्थामा २ हजार रुपैयाँमा टिकट पाइने काठमाडौं–नेपालगञ्जको टिकटलाई २ हजार ४०० रुपैयाँसम्म तिर्नुपरेको एकजना यात्रु रूपेश शाहले बताए । उनका अनुसार सामान्य अवस्थामा उनले यस रूटमा २ हजार रुपैयाँ भाडा तिर्दै आएका थिए । व्यवसायीले भने अहिले काठमाडौंबाट गन्तव्यसम्म पुग्न लामो समय लाग्ने गरेकाले बसको खर्च पनि सामान्य अवस्थाको तुलनामा बढेको हुँदा भाडा केही बढाएर लिएको बताएका छन् ।