संस्कृति संरक्षणमा नुवाकोटको पञ्चकन्या गाउँपालिका, सुन्तलेटारमा घुम्न थाल्यो रोटेपिङ
• भरतसन्तोषी लामा
नुवाकोट,असोज २२ । दशैं भन्ने बित्तिकै बाल्यकालमा सालको पातबाट निर्मित टपरीमा विभिन्न परिकार खाएको, पिङ खेलेको र सेतो कमेरो, रातो माटोले घर लिपपोत गरेको सम्झना मानसपटलमा आइहाल्छ।
पिङमा पनि लिङ्गे र रोटे पिङको याद नहुने त कुरै हुँदैन । जतिबेला दशैंबाहेक अन्य समय कतै पनि पिङ देखिँदैन थिए। तर आज व्यावसायिक रूपमा विभिन्न ठाउँमा सधैभर पैसा तिरेर पिङ खेल्न पाइन्छ। तर, ती पिङमा दशैंसँगको कुनै साइनो गासिएको हुँदैन ।
जिल्लामा पछिल्लो समय रोटे पिङको चलन हराउँदै गएको थियोे । विद्यालयमा खेलाइने फलामबाट बनेका पिङ होइन काठै काठले बनेका रोटे पिङको रौनकता र सहजता बयान गरेर साध्य छैन । जुन कुरा हालका स्कुले नानीबाबुलाई सिकाउने समय आइसकेको छ।
जिल्लाको पञ्चकन्या गाउँपालिका ५ का अर्जुन गिरीले रोटेपिङ खेल्न मन भए पनि पिङ नपाएर खेल्न नपाएको दश वर्ष भयो । लोप हुुँदैगएको रोटेपिङ यो दसैँ तिहारमा खेल्न चाहना दश वर्षदेखिको पूरा हुनेभएको गिरीको भनाइ छ । “विगतमा बाटोघाटोमा रोटेपिङ भेटिने भएकाले खेल्ने गरिन्थ्यो तर अहिले बिगत दश वर्षदेखि कतै पनि रोटेपिङ देख्न त परै जाओस् खेल्न पनि पाएको छैन” उनले भने, “अहिले युवापुस्ता पिङभन्दा पनि आधुनिक मनोरञ्जनमा बढी झुम्मिन थालेकाले चर्खेपिङको महत्व घट्दै गएको छ ।”
नयाँपुस्ता दसैँमा पिङ खेल्नेभन्दा पनि साथीभाइ एकै ठाउँमा जम्मा भएर रमाइलो गर्ने, सामाजिक संजाल मार्फत मनोरञ्जन लिने, नयाँ ठाउँ घुम्न जानेभएकाले पिङको महत्व हराउँदै गएको स्थानीय कृष्णबहादुर तामाङ बताउँछन् ।
“जिल्लामा पछिल्लो समय छिटपुट रुपमा रोटेपिङ देखिन थालेको छ । यो एक किसिमले लोप नै हुुँदैगए तापनि गतवर्ष छहरे-टोखा सडकखण्डको छहरे मोडमा स्थानीय सुन्दरादेवी युवा समूहले रोटे पिङको स्थापना गरेको थियोे । यसवर्ष भने पञ्चकन्या गाउँपालिकाले नै लोप हुुन लागेका रोटे, लिङ्गेपिङको संरक्षणका लागि बजेट नै विनियोजन गरेर संरक्षणमा जुुटेको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताए ।
गाउँपालिकाले वडा नम्बर ५ भद्रुटार सुन्तलेटारसहितका विभिन्न ठाउँमा संस्कृति संरक्षण तथा प्रवर्द्धनका लागि रु ३ लाख बजेट विनियोजन गरेको अध्यक्ष तामाङले बताए । अध्यक्ष तामाङका अनुसार घले भञ्ज्याङ् र घ्याङस्वारामा समेत यस वर्ष लिङ्गे पिङ्को व्यवस्थापन गरिएको छ।
एक दशक अघिसम्म दसैँ लागेसँगै चोक–चोक र टोलमा देखिने यस्ता रोटे पिङ, लिङ्गे पिङ दश वर्षपछि आफूले देख्न पाएको भद्रुटारका शंकर गिरीले बताए । गाउँपालिकाबाट विनियोजित रकम रु १ लाख बाट सुन्तलेटारमा रोटे पिङ स्थापना गरिएको र बचेको खर्चबाट गाउँमा चौतारी तथा खानेपानीको प्रबन्ध गर्न लागेको उनले बताए ।
उता शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित गेरगाउँ सिम्पानीमा पनि स्थानीय युवाको सक्रियतामा रोटे पिङ स्थापना गरिएको छ । स्थानीय शिक्षक समेत रहेका युवा अच्युतकुमार ठकुरीका अनुसार स्थानीयबाट नगद संकलन गरी लोप हुँदै गएको रोटे पिङ संरक्षणमा लागेको बताए । यस प्रकारको संस्कृति संरक्षणका लागि सरकारी तवरबाटै कार्यक्रम योजना तर्जुमा गर्नुपर्ने समय आएको ठकुरीले बताए ।