काभ्रेमा ड्रोनबाट बाँडियो राहत
काठमाडौ,असोज २२ । ड्रोन भन्नेबित्तिकै धेरैले क्यामेरा बुझ्छन् तर यसको प्रयोग त्यतिमा मात्रै सीमित छैन । अरू देशमा विभिन्न क्षेत्रमा यसको व्यापक प्रयोग रहँदा नेपालमा पनि अत्यावश्यक मानवीय सहायता सेवामा यो प्रयोग हुन थालेको छ ।
पनौतीका बाढी र पहिरो प्रभावित बासिन्दालाई ड्रोनको सहायताले राहत वितरण गरिएको छ । भौगोलिक विकटताका कारण खाद्यान्नलगायतको सामग्री लैजान नसक्ने र प्रभावित क्षेत्रका बासिन्दा राहत लिन आउन नसक्ने अवस्थामा सहजै राहत सामग्री पुर्याएको छ ।
पहिरो प्रभावित ८५ घरधुरीका लागि चामल, सोलार बत्ती, नुन, तेल, मसला, सेनेटरी प्याड, बालबालिकाका लागि ल्याक्टोजिनलगायतको राहत सामग्री पठाइएको हो । हिँडेर राहत लिएर जाने अवस्था नदेखेपछि ड्रोनको माध्यमबाट राहत पठाइएको हामी नेपाली संस्थाका प्रतिनिधि सुदन गुरुङले बताए ।
मानिसका लागि जोखिमयुक्त मानिएको ठुला विद्युत्का परियोजनामा ड्रोनको प्रयोग सफलसमेत भएको छ । हालै मात्र चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन निर्माणमा तार तान्न ड्रोनको प्रयोग भएको थियो तर यो नै सुरुवात भने होइन ।
२०७२ सालको भूकम्प र हालैको बाढीपहिरोमा मानवीय सेवामा यसको प्रयोग त भयो तर सीमित मात्र रह्यो । औषधी, रगत र खानेपानी जस्ता अत्यावश्क सुविधाका लागि ड्रोनको प्रयोग हुनु आफैँमा राम्रो सुरुवात भने हो । प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको नेपालमा यस्तो प्रयोगले राहत र उद्धारलाई सहज बनाउने विज्ञ र प्रयोक्ताको विश्वास छ ।
सडक सुविधाबाट वञ्चित हुने ग्रामीण तथा पहाडी क्षेत्रका लागि ड्रोन निकै उपयोगी देखिएको छ । २०७४ साल माघमा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–८, राम्चेमा औषधी बोकेको ड्रोनको सफल उडान भएको थियो । सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले पहिलो पटक मेडिकल ड्रोनको प्रयोग गरेको थियो ।
त्यसयता ड्रोनको प्रयोग बढिरहेको छ । सेन्सरको सहायताले पाइलटबिनाको नै एक ठाँउको अत्यावश्यक सामग्री अर्को ठाउँसम्म पुर्याउन ड्रोन उपयोगी साबित बनेको काठमाडौँ विश्वविद्यालयका इन्जिनियर गोविन्द बानियाँले बताए ।उनका अनुसार ड्रोन रेडियो फ्रिक्वेन्सी वा जिपिसएसमार्फत नियन्त्रण हुने मानवरहित विमान जस्तै हो । आकार उपयोगिताका आधारमा सानोठुलो हुन्छ ।
नेपाल प्रहरीले अत्यधिक भिडभाड हुने ठाउँमा ड्रोनको प्रयोगमार्फत निगरानीसमेत गर्ने गरेको छ । ट्राफिक जाम तथा सुरक्षा संवेदनशीलताका समयमा प्रहरीले यसको सफल प्रयोग गरिसकेको छ । सहरमा मात्रै होइन, ग्रामीण तथा उच्च जोखिमका हिमाली क्षेत्रमा ड्रोनको प्रयोग सामान ओसार्न तथा मानवीय सहायताका लागि हुन थालेको छ । सगरमाथा आधारशिविरमा सामान तथा फोहोर व्यवस्थापनमा यसको प्रयोगको अन्तिम तयारी थालिएको छ । सगरमाथा आधारशिविरदेखि क्याम्प–१ सम्म सामान ओसारपसारका लागि प्रयोग गरिएको ड्रोनको परीक्षण उडान सफल भएपछि प्रविधि प्रयोगका लागि बाटो खुलेको पथप्रदर्शक पूजन सापकोटाले उल्लेख गरे । खुम्बु पासाङल्हामु गाउँपालिकाको समन्वयमा चिनियाँ ड्रोन कम्पनी डिजिआईले गरेको परीक्षण उडान सफल भएको गाउँपालिकाले जनाएको छ । त्यसको परीक्षण सफल भएको र सगरमाथा बेसक्याम्पदेखि क्याम्प–१ सम्म सामान ओसारपसारमा ड्रोनको प्रयोग गर्न सकिने कुराको पुष्टि भएको गाउँपालिकाको वेबसाइटमा उल्लेख छ ।
गाउँपालिकाले गृह मन्त्रालयलगायतका सरकारी निकायबाट स्वीकृति लिएर ड्रोनको परीक्षण गरेको थियो । ड्रोनको प्रयोगले क्याम्प–१ मा सामान लैजान र माथिबाट बेसक्याम्पसम्म फोहोर ल्याउन सहज हुने आशा गरिएको सगरमाथा प्रदूषण नियन्त्रण समितिले जनाएको छ ।
कृषिमा पनि ड्रोनको अधिक सम्भावना छ । ड्रोनमा रहेको उच्च क्षमताको क्यामराबाट बालीको रेखदेख गर्न सकिने वरिष्ठ बागवानी विकास अधिकृत दीपकप्रसाद पौडेलले बताए । यसको प्रयोग चीन, भारत र अमेरिकामा अत्यधिक हुने गरेको र नेपालमा पनि प्रयोग गर्न सकिने उल्लेख गरे । उनका अनुसार बालीमा कुनै पनि कीटनाशक औषधि वा अन्य कुनै पनि भिटामिन हाल्नु परे धेरै पर सतहसम्म छिट्न ड्रोनको प्रयोग गर्न सकिन्छ । कीटनाशकको जोखिमपूर्ण प्रयोगले गम्भीर बिरामीसमेत हुने भएकाले ड्रोनको प्रयोगले मानव स्वास्थ्यलाई समेत जोगाउने छ ।
त्यसका साथै ठुलो चरन क्षेत्रमा ड्रोनको प्रयोग गरेर सहजै पशुपालन गर्न सकिने लामो समयदेखि चीनमा यही विषयमा अध्ययन गरिरहेका प्रतीक घिमिरेले बताए । गोरखापत्रबाट