बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुग्यो



काठमाडौँ, असोज २१ । असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परेर सोमबारसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेका छन् ।

नेपाल प्रहरीले सोमबार सार्वजनिक गरेको विवरण अनुसार बाढीपहिरोमा परेर एक सय ७८ घाइते भएका छन् । १८ बेपत्ता रहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

उनकाअनुसार कूल १७ हजार एक सय ७४ को उद्धार गरिएको छ । सबैभन्दा ठुलो जनधनको क्षति बागमती प्रदेशमा भएको र त्यसमा पनि काठमाडौँ उपत्यकामा धेरै क्षति भएको छ । बागमतीमा मात्रै एक सय ३९को मृत्यु भएको छ ।

मृतकमध्ये एक सय ७६ आश्रित परिवारलाई ‘विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड, २०७७’ बमोजिम राहत रकम उपलब्ध गराइएको छ । प्रभावित परिवारलाई नगद सहायता तथा राहत सामग्री वितरण जारी रहेको उनले जानकारी दिए ।

मन्त्रालयअन्तर्गत केन्द्रीय विपद् गोदाम घरमा रहेको राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समितिको मागको आधारमा उपलब्ध गराइएको छ । आपत्कालीन राहत, पुनः निर्माण र पुन:स्थापनालाई प्रभावकारी बनाउने उद्देश्यले गृहमन्त्रीसहितको टोलीले विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरी राहत र पुन:निर्माणलाई गति दिन निर्देशन दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्