बाढीपहिरोमा २३९ जनाको मृत्यु, पीडितलाई महामारीको चिन्ता, घरमै पुगेर राहत वितरण



काठमाडौँ,असोज २० । अघिल्लो साता आएको बाढीपहिरामा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् । अन्य एक सय ७८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए । हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई बिघामा लगाएको धानखेती बाढीले बगायो । कोशी किनारमै मजदुरी गर्दै आएका उहाँ बाढीले धानखेती ध्वस्त बनाएपछि अब के गर्ने भन्ने चिन्तामा छन् ।’अहिलेसम्मको सबै मेहनत बाढीले बगायो, खेतमा गोडमेल, रोपाइँ, सिँचाइलगायतमा मात्रै प्रतिबिघाको रु ३५ हजारसम्म खर्च भएको थियो,’ उनले भने । 

केही दिनअघि परेको अविरल वर्षासँगैको कोशी नदीमा आएको भिषण बाढीका कारण उहाँ मात्रै होइन अधिकांश किसान पीडामा छन् । त्यसैमध्येका एक छन् उमेश माझी । ‘घुटराज जातको धान लगाएको थिए । पाकेर स्याहार्ने बेलामा कोशीको बाढीले सबै लग्यो, यहाँका किसानको लाखौँको लगानी डुब्यो,’ उनले भने ।

त्यहाँका अधिकांश घरपरिवार सुकुमबासी छन । कोशी ब्यारेजमा करिब ४५ परिवार मजदुरी गरी जीविकोपार्जन गर्दै आएका छन् । उनीहरू अधिकांशको दैनिकी कोशी नदीमा बगाएर ल्याएका दाउरा छान्दैमा बित्ने गरेको छ ।  यहाँ करिब पाँच सय बिघा जमिनमा धान रोपाइँ भएको स्थानीय वीरेन्द्र कबिरले बताए । जिल्लाका विभिन्न स्थानमा घुटराज धान लगाउने किसान अहिलेको वर्षाबाट बढी प्रभावित भएको उनले बताए ।

यस्तै भारदह गाउँका अनिल माझी, पारस माझी, बथुह माझी, मोहन संत, मुशहरू राम, सुनिल राम, महेश माझी, सकलदेव लोगी र अशोक खड्गा, बासुदेव खड्गा तथा मनवोध झासहित करिब एक सय परिवारको धान खेती कोशीको बाढीका पानीका कारण नष्ट भएका छन् ।  धानखेतीमा पानी निकासी हुने कुनै ठाउँ नरहेकाले पाँच सय बिघामा लगाइएको धान पूर्णरुपमा गलेर नष्ट भएको वडाध्यक्ष सुरेन्द्र मण्डलले जानकारी दिए । उक्त ठाउँमा कोशी नदीबाट भासेर आएका जलकुम्भी, बिभिन्न झारपातले भरिएको छ । 

कृषि ज्ञान केन्द्र राजविराजका सप्तरीका अनुसार जिल्लाको पूर्वी भेगका हनुमाननगर कङ्कालिनी नगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ८, ९, ११ र १४ वडामा बाढीले धान खेतिमा क्षति गरेको छ ।  त्यस्तै जिल्लाको तिलाठी कोइलाडी, कञ्चनरुप नगरपालिका, तिरहुत गाउँपालिकामा समेत हजारौँ बिघाको धानबाली नष्ट भएको छ । यस क्षेत्रमा कोशी, जीता, मोहुली जस्ता नदीहरूमा आएको बाढी पसेको हो । 

ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता

गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यहाँका बासिन्दा अहिले अन्यत्रै बसेर पुन:स्थापनाका लागि काम गरिरहेका छन् । तर उनीहरूमा जति बाढीका कारण पाएको दु:ख छ त्योभन्दा बढी चिन्ता अहिले नख्खु खोलामा फैलिएको दुर्गन्धका कारण महामारी शुरू हुने हो कि भन्ने चिन्ता पनि छ । 

 बाढीले पशु बगाएर ल्याएको हुँदा नख्खु खोला दुर्गन्धित भएको छ । बाढीका कारण ढल फुटेको छ । आफूहरूले मास्क लगाएर काम गरिरहेको ललितपुर नख्खु खोलाका बाढीपीडितको भनाइ छ । यसले महामारी फैलने जोखिम बढाएको उनीहरूको चिन्ता छ । 

 ललितपुर महानगरपालिकाले दुर्गन्ध कम गर्न औषधि हालेपछि दुर्गन्धमा केही कमी आए पनि खोला छेउका बस्तीमा काम गर्न निकै मुस्किल रहेको वडा नं ४ का मिलन यसमाइली मगरले बताए । उनले भने, ँऔषधि छर्केदेखि दुर्गन्ध अहिले कम भएको छ, तर पूर्ण रुपमा हटिसकेको छैन । यस्तै दुर्गन्ध रहिरह्यो भने महामारी फैलिन्छ कि भन्ने त्रास छ ।’

 नगरप्रहरीले तीन दिनयता निरन्तर खोलामा औषधि छर्केको वडा नं १३ का वडाध्यक्ष गणेश केसीले बताए । उनले भने, ँविद्युत् अवरुद्ध भएको सबै ठाउँमा विद्युत् सञ्चालन गरेका छौँ, पानीको अझै समस्या छ । बाढीका कारण ढलमा आएको समस्याले दुर्गन्ध फैलिने समस्या छ । हामी व्यवस्थापनमा जुटेका छौँ ।’

 हावा चलेको समय र दिउँसो घाम लागेको समयमा खोलाको गन्धले काम गर्न मुस्किल भएको वडा नं २५ खोलामा बस्दै आएकी रेणुको लिम्बूले बताए । उनले भने, ँदुर्गन्ध निकै छ । बाढीले पुरेको सामान निकाल्न खोजेको गन्धका कारण निकाल्नै गाह्रो छ । गन्धका कारण आफू बिरामी परिन्छ कि भन्ने डर छ ।’

बाढी, पहिरोपीडितलाई घरमै पुगेर राहत वितरण

एक साताअघिको बाढी र पहिरोमा परी ज्यान गुमाएका तीन जनाको परिवारलाई घरमै पुगेर राहत उपलब्ध गराइएको छ । पानी परिरहेका बेला शरीर भिज्नबाट जोगिन ओडारमुनि ओत लागेका बेला ओडार नै खस्दा पुरिएका धादिङको बेनीघाट रोराङ गाउँपालिका– ६ का जनता भनिने श्यामकुमार चेपाङ र शन्तबहादुर चेपाङ र घरमा आएको पहिरो सोर्ने क्रममा पहिरोले पुरिएर ज्यान गुमाएका थाक्रे गाउँपालिका– ६ का कान्छा राईको परिवारलाई उनीहरूको घरमा नै पुगेर राहत उपलब्ध गराइएको हो ।
जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालसहितको टोलीले मृतक तीनै जनाको घरमा पुगेर परिवारलाई रु दुई लाखका दरले राहत रकम वितरण गरिएको हो । सरकारले तय गरेको स्वीकृत मापदण्डका आधारमा मृतकको परिवारलाई राहत रकम वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

‘राहत रकमको सदुपयोग होस् भनेर पालिकाको रोहवरमा वितरण गरेका छौँ । यो राहत रकमले थोरै भए पनि आफन्तको घाउमा मलमको काम गर्ने अपेक्षा गरेका छौँ,’ उनले भने ।  त्यस्तै, निरन्तरको वर्षासँगै गाउँकै खोलामा आएको भलले बगाएर ज्यान गुमाएकी गजुरी गाउँपालिका–८ की छ वर्षीया युना तामाङको परिवारलाई वितरण गरिने राहत रकम प्रक्रियामा रहेको अर्यालले जानकारी दिए । कागजात जुटाउने तथा प्रक्रियामा रहेकाले केही दिनमै युनाको परिवारलाई पनि राहत रकम वितरण गरिने उनको भनाइ छ ।त्यस्तै, खोलाले बगाएर ज्यान गुमाउनु भएकी गोरखाको सहिद लखन गाउँपालिका–६ घैरुङस्थित अधेरीकी ७० वर्षीया बालकुमारी श्रेष्ठको परिवारलाई आज राहत रकम प्रदान गरिएको छ ।  जिल्ला प्रशासन कार्यालयले जिल्ला विपद् व्यवस्थापन कोषबाट पीडित परिवारलाई रु दुई लाख ५० हजार राहत रकम घरमा पुगेर उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिए ।

त्यस्तै, खोलाले बगाएर ज्यान गुमाउनु भएकी गोरखाको सहिद लखन गाउँपालिका–६ घैरुङस्थित अधेरीकी ७० वर्षीया बालकुमारी श्रेष्ठको परिवारलाई आज राहत रकम प्रदान गरिएको छ ।  जिल्ला प्रशासन कार्यालयले जिल्ला विपद् व्यवस्थापन कोषबाट पीडित परिवारलाई रु दुई लाख ५० हजार राहत रकम घरमा पुगेर उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष रमेश थापामगरले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले मृतकको परिवारलाई राहत रकम उपलब्ध गराउनुभएको हो । सङ्घीय सरकारबाट प्राप्त रु दुई लाख र प्रदेश सरकारबाट रु ५० हजार राहत रकम मृतककी छोरीलाई हस्तान्तरण गरिएको प्रजिअ दाहालले जानकारी दिए । यही असोज १२ गते बुङकोट स्वास्थ्यचौकीमा उपचार गरेर घर फर्कने क्रममा गाउँपालिका–६ र ७ को सिमानामा पर्ने सुकौरा खोलाले बगाएर श्रेष्ठको मृत्यु भएको थियो ।

सिस्नेरी पहिरोमा मृत्यु भएका तीनजना विद्यार्थीको परिवारलाई राहत वितरण

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी पहिरोमा परेर मृत्यु भएका तीनजना विद्यार्थीका परिवारलाई शुक्रबार राहत उपलब्ध गराइएको छ । सरकारका तर्फबाट जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरका संयोजक एवं प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले पहिरोमा परी मृत्यु भएका मकवानपुरको हेटौँडाका अनुपम घलान, मकवानपुरगढीका साइमन योञ्जन र सिस्नेरीका दिवस बानियाँका परिवारलाई राहतस्वरुप रु दुई/दुई लाखको चेक हस्तान्तरण गरे ।

मृतक अनुपमका बुबा ललितबहादुर घलान, साइमनका बुबा हेमबहादुर योञ्जन र बानियाँका बुबा दीपक बानियाँलाई घरमा पुगेर चेक हस्तान्तरण गरिएको प्रजिअ चिलुवालले जानकारी दिए । यही असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले मकवानपुरको सिस्नेरीस्थित टेकरमा पहिरोमा खस्दा असोज १२ गते अखिल नेपाल फुटबल सङ्घ (एन्फा) क्याम्पमा प्रशिक्षण लिने र होस्टेलमा बसेर अध्ययन गर्दै आएका छजना विद्यार्थीको मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्