कोशी प्रदेश सरकारले आगामी माघ महिनामा लगानी सम्मेलन गर्ने तयारी
विराटनगर,असोज १९ । कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते गर्ने कोशी प्रदेश लगानी सम्मेलनको तयारी शुरु गरेको छ ।
गत असोज १३ गते बसेको मन्त्रिपरिषदको बैठकले अवधारणा पत्र पारित गरेपछि काम शुरु भएको हो । कोशी प्रदेश लगानी सम्मेलनको मुल आयोजक समिति निर्माण गरी काम शुरु गरिएको छ । शुक्रवार आयोजक समितिको पहिलो बैठक सम्पन्न भएको छ ।
पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघ सरकार, स्थानीय सरकार र निजी क्षेत्रको समन्वय र सहकार्यमा सम्मेलन सफल पार्नु पर्ने बताए । उनले कानुनी जटिलतालाई सहजीकरण गर्नका लागि संघीय सरकारसँग आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रदेश लगानी सम्मेलनको तयारीका लागि योजना बनाउने, परियोजनाको तयारी गर्ने र त्यसलाई लगानीकर्तामाझ पुर्याउने योजना ल्याउने गरी बैठकले तयारी गरेको छ ।
कोशी प्रदेश सरकारले निजी क्षेत्रका प्रदेश उद्योग वाणिज्य संघ, उद्योग संगठन मोरङ, मोरङ उद्योग व्यापार संघ, नेपाल चेम्बर अफ कमर्स प्रदेश समिति, नेपाल उद्योग परिसंघ, प्रदेश सहकारी संघ, विराट व्यापार संघलगायतलाई सहसंयोजक राखेर मुल आयोजक कमिटी बनाएको छ । यसमा प्रदेशका मन्त्रीहरु, निजी क्षेत्रका अगुवाहरु र संघसंस्थालाई समेटिएको छ ।
त्यस्तै दशैंअघि नै लगानी सम्मेलनको सचिवालय बनाउने तयारीसमेत भएको छ । कोशी प्रदेशका सभामुख संयोजक रहने गरी सल्लाहकार समिति, प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारीको नेतृत्वमा परियोजना तयारी समिति, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाको नेतृत्वमा लगानी सम्मेलन निर्देशन समिति, आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीको नेतृत्वमा नीतिगत तथा कानुनी सुधार गर्नसमेत समिति गठन गरिएको छ ।
प्रदेश लगानी सम्मेलनको बैठकमा सहभागीले स्वदेशी लगानीकर्तालाई पनि आकर्षित गर्नु पर्ने र भारतीय उद्योगपतिहरुलाई आकर्षित गर्ने गरी योजना बनाउनु पर्ने र कानूनी जटिलतालाई छिटो र छरितो ढंगले निरुपण गर्नु पर्ने सुझाव दिएका छन् । कोशी प्रदेश सरकारले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा लगानी सम्मेलन गर्ने घोषणा गरेर तयारी शुरु गरेको हो ।