इजरायल–इरान बढ्दो तनाव : नेपालमा के असर पर्ला ?
काठमाडौं,असोज १९ । इरान र इजरायलबीचको बढ्दो तनावको असर कच्चा तेल बजारमा देखिने आशंका गरिएको छ । यही कारण विश्वभर तेलको भाउ बढ्ने देखिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनको बयानपछि यो आशंका झन् बलियो भएको छ । उनले इजरायलले इरानको तेल भण्डार क्षेत्रमा आक्रमण गर्न सक्ने बताएका थिए ।
यो बयानपछि पत्रकारले उनलाई प्रश्न सोधे– यस्तो भएमा के अमेरिका इजरायली हमलाको समर्थन गर्नेछ ? बाइडनले जवाफ दिए, ‘हामी यसबारे छलफल गरिरहेका छौं ।’
बाइडनको बयानपछि कच्चा तेलको भाउ पाँच प्रतिशत बढिसकेको छ । इरानले गत मंगलवार राति इजरायलमा सयौं मिसाइल प्रहार गरेको थियो । त्यसयता दुवै देशबीच तनाव बढेको छ ।
इजरायलका विदेश मन्त्रालयका अनुसार इरानले इजरायलमा १८१ ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो, जसमा एक प्यालेस्टिनीको मृत्यु भएको थियो ।
त्यसअघि गत अप्रिलमा पनि इरानले इजरायलमाथि हमला गरेको थियो । त्यो बेला इरानले इजरायलमा ११० ब्यालेस्टिक मिसाइल र ३० क्रुज मिसाइलले हमला गरेको थियो ।
इरानको पछिल्लो हमलापछि बंकरमा इजरायली सुरक्षा क्याबिनेटको बैठक बसेको थियो । बैठकमा इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहूले भने, ‘इरानले आज एक ठूलो गल्ती गरेको छ । उसले यसको परिणाम भोग्नुपर्छ ।’
गत जुलाईमा इरानको राजधानी तेहराइमा हमासका राजनीतिक प्रमुख इस्माइल हनियाको हत्या भएको थियो । उक्त हत्यामा इजरायलको हात रहेको इरानको आरोप छ ।त्यसपछि गत सेप्टेम्बर २७ मा लेबनानमा इजरायलको आक्रमणबाट हिज्बुल्लाहका नेता हसन नसरल्लाहको मृत्यु भएको थियो ।
यी दुवै नेता इरान समर्थित मानिन्छन् । इजरायलमाथि आक्रमण गर्नुको कारणबारे इरानको भनाइले पनि यो पुष्टि हुन्छ । इरानले यी दुवै नेताको हत्याको बदला लिन इजरायलमा मिसाइल आक्रमण गरेको बताएको छ ।
गत बुधवार इजरायली मिडियामा प्रकाशित समाचारअनुसार इजरायलले केही दिनभित्र इरानको मुख्य रणनीतिक स्थानमा निशाना बनाउनेछ, जसमा इरानको तेल भण्डार हुनसक्ने अड्कलवाजी गरिएको छ ।
जामिया मिल्लिया इस्लामिया युनिभर्सिटीको नेल्सन मण्डेला सेन्टर फर पिस एण्ड कन्फ्ल्क्टि रिजाल्युसनकी फ्याकल्टी मेम्बर प्रो. रेशमी काजी भन्छिन्, ‘मध्य–पूर्वमा जुन हिसाब तनाब बनेको छ, यदि इरानको तेल भण्डारमा हमला भयो भने यसको असर एकदमै ठूलो हुनेछ ।’
उनका अनुसार यसले न केवल तेलको आपूर्तिमा मात्रै असर पर्ने छैन । रणनीतिक हिसाबमा महत्त्वपूर्ण केही बाटा बन्द हुन सक्छन् । यसबाट लागत र महँगी बढ्नेछ ।’ यसको असर नेपाललगायत विश्वका आम सर्वसाधारणमा पर्ने उनको भनाइ छ ।
विश्वको तेल बजारमा कहाँ छ इरान ?
इरान विश्वमा सर्वाधिक तेल उत्पादन गर्ने देशको सूचीमा सातौं स्थानमा पर्छ । उसले आफूले उत्पादन गरेको तेलको करीब आधा निर्यात गर्छ । उसको तेल निर्यातको मुख्य बजार चीन हो । यद्यपि, चीनले साउदी अरबबाट तेलको पर्याप्त आपूर्ति गर्ने भएकाले तेलको मूल्य वृद्धि हुनबाट धेरै हदसम्म रोकेको छ । इरान विश्वको सर्वाधिक तेल भण्डारको सूचीमा चौथोमा पर्छ । ऊ विश्वको दोस्रो ठूलो ग्यास भण्डार भएको देश हो ।
पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन (ओपेक)मध्ये इरान विश्वको तेस्रो ठूलो तेल उत्पादक देश हो । उसले प्रतिदिन लगभग ३० लाख ब्यारेल तेल उत्पादन गर्छ । यो कुल वैश्विक उत्पादनको लगभग ३ प्रतिशत हो ।
यो अवस्थामा यदि इजरायलले इरानको तेल भण्डारमा आक्रमण गरी नष्ट गरे यसले तेलको आपूर्तिमा असर पर्नेछ । र, विश्वभर तेलको मूल्य बढ्नेछ । बीबीसी