दशैंमा घर फर्किने यात्रुले बस भरिभराउ, ‘टिकट पाउन सास्ती’



काठमाडौं,असोज १९ । दशैंका लागि सङ्घीय राजधानी काठमाडौं छोडेर घर जानेको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । दशैंका लागि घर जाने तथा अग्रिम टिकट लिनेका कारण काठमाडौंको गोँङ्गबुमा रहेको नयाँ बसपार्कमा हिजोआज घुइँचो बढ्न थालेको छ । दशैंको आगमनसँगै विभिन्न कामका लागि राजधानी पसेकाहरू घर फर्किन थालेका कारण बालाजु नयाँ बसपार्कमा चहलपहल बढ्न थालेको बस व्यवसायी बताउँछन् । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराका अनुसार यही असोज १४ गतेदेखि १७ गते बिहानसम्म काठमाडौंबाट बसमा ५६ हजार नौ सय ५६, ट्रकमा सात हजार सात सय ४९, सानो मोटरसाइकलमा आठ हजार दुई सय ८४ तथा ठूलो मोटरसाइकलमा पाँच हजार तीन सय ४४ जना गरी जम्मा एक लाख २६ हजार चार सय ३५ जना काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् ।

घटस्थापना शुरु भएसँगै विद्यालयमा बिदा शुरु हुन थालेपछि नयाँ बसपार्कमा गाउँ फर्कनेहरूको भीड बढेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनले भने, ‘विद्यालय बिदा शुरु भएको र काठमाडौं छोडेर घर जानेको पनि भीड बढ्न थालेको छ । नयाँ बसपार्कमा भीड बढ्न थालेपछि हामीले सुरक्षाकर्मीको सङ्ख्या पनि थपेका छौं ।’ 

यात्रुहरूको भीड बढेसँगै नयाँ बसपार्कमा हेल्प डेक्स स्थापना गरी यात्रुलाई सहज रूपमा यात्रा गराउन, पाकेटमारदेखि सावधान हुन तथा माइकिङ गरिन थालिएको प्रवक्ता अधिकारीले बताए । 

यसैगरी दशैं मनाउनका लागि कर्मथलो छोडेर घर फर्किनेको लर्को लागेपछि काठमाडौंका नाकामा सवारीको चाप बढ्दै गएको प्रहरीले जनाएको छ । काठमाडौंको नयाँ बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर क्षेत्रमा घर फर्किने यात्रुको भीड र सवारी साधनको चाप बढेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यात्रुको भीड र सवारी साधनको चाप बढेपछि राजधानी काठमाडौं छिर्ने र बाहिरिने नाकामा सवारी जाम बढ्न थालेको छ । दशैं नजिकिएसँगै काठमाडौं उपत्यका छाड्ने र घर जानेको सङ्ख्या बढ्दै गएको सुदूरपश्चिम यातायातका काठमाडौं–धनगढी रुटका बस चालक रमित ओलीले बताए । उनले भने, ‘वर्षाका कारण बाटोको अवस्था खराब छ, तैपनि घर जाने यात्रुले हाम्रा गाडी भरिभराउ हुने गरेका छन् । यात्रुका कारण निकै चहलपहल बढेको छ ।’ 

घटस्थापनादेखि काठमाडौंबाट बाहिरिने यात्रुको चाप बढेको हो । बिहीवार दिउँसो १२ बजेसम्म बस, माइक्रो, ट्रक, निजी सवारी साधान र मोटरसाइकल गरी ८२० सवारी साधन काठमाडौंबाट बाहिरिएका ती सवारी साधनमा १३ हजार पाँच सय तीन जना बाहिरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।  

उनका अनुसार शुक्रबार दिउँसो १२ बजेसम्म पाँच सय ४४ सवारी साधन काठमाडौं भित्रिएका र त्यसमा सवार छ हजार पाँच सय ५४ यात्रु काठमाडौं प्रवेश गरेका छन् । प्रहरीको अभिलेखभन्दा बाहिर रिजर्व गरेर विभिन्न नाका हुँदै जाने र निजी सवारीमा जानेको सङ्ख्या पनि अधिक रहेको काठमाडौं प्रहरीले जनाएको छ । 

दशैंका लागि यही असोज २३ गतेसम्मका लागि बस काउण्टरले अग्रिम टिकट बुकिङ गरिसकेकाले यात्रुलाई अहिले सहजरूपमा टिकट पाउन मुस्किल परिरहेको काठमाडौंबाट दशैंका लागि घर जान बसपार्कमा पुगेका रोल्पाका ललित मगरले बताए । उनले भने, ‘टिकट काउण्टरले २३ गतेसम्म गाडी प्याक छन् भन्छन्, हामीले टिकट पाउन सकेका छैनौं । कसरी घर जाने बाटोको अवस्था यस्तो छ । दुःख पाइने भयो ।’ 

उनी जस्तै आज नयाँ बसपार्कमा टिकटका लागि बिहानै बसपार्क पुगेका यात्रुहरू सहजरूपमा टिकट नपाएको भन्दै गुनासो गरिरहेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्