बाढीपहिरो र डुबानमा परेका सत्र हजारभन्दा बढीको सकुशल उद्धार



काठमाडौँ, असोज १८ । मुलुकभरबाट बाढीपहिरो र डुबानलगायत प्राकृतिक विपत्मा परेका १७ हजार १२० जनाको सकुशल उद्धार गरिएको छ । विपत्पछिको खोज उद्धारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयंसेवकबाट गरी बिहीबार बिहानसम्म १७ हजारभन्दा बढीको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले जानकारी दिए ।

उनले विपत्मा परी बेपत्ता २२ जनाको खोजीकार्य जारी रहेको जानकारी दिनुहुँदै देशभर १६९ जना घाइतेको विभिन्न अस्पतालमा निःशुल्क उपचारको प्रबन्ध गरिएको बताए । गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौंँ उपत्यकाबाट दुई हजार १५८ जना, कोशी प्रदेशबाट ९० जना तथा मधेश प्रदेशबाट ३५ जनासहित देशका विभिन्न स्थानबाट विपत्मा परेकाको उद्वार गरिएको छ । काठमाडौँ उपत्यकाबाहेक सबैभन्दा बढी बागमती प्रदेशबाट १३ हजार ६४० जनाको उद्धार गरिएको छ । 

मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टरबाट पनि बिरामी, घाइते, बालबालिका, ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर उद्धारकार्य गरेको जनाएको छ । खोज तथा उद्धारको काम अन्तिम चरणमा पुगेको र बेपत्ताहरूको पनि खोजी तीव्र पारिएको जनाएको छ । गृहमन्त्री रमेश लेखकले खोज, उद्धार तथा राहत वितरणका साथै अवरुद्ध राजमार्ग खुलाउन सरोकारवाला निकाय एवं मन्त्रालय सम्बद्ध निकायसँग निरन्तर समन्वय गरिरहनुभएको पनि गृह मन्त्रालयले जनाएको छ ।

मन्त्री लेखकले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उद्धार, राहत वितरण र घाइतेको स्वास्थ्य उपचारमा विशेष ध्यान दिन पनि निर्देशन दिएका छन् । यसै गरी उनले राजमार्ग सुचारु गर्न सहजीकरण, यात्रुको सहज र सुरक्षित यात्रा गर्नेलगायतका विषयमा यातायात व्यवसायीसँग पनि निरन्तर छलफल र संवादमा रहेका छन् । गृह मन्त्रालयले काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुलीलगायतका जिल्लामा विपत्मा परी मृत्यु भएका मृतकका परिवारलाई आर्थिक सहायताबापत राहत रकम उपलब्ध गराउनुका साथै घर भत्किएका परिवारलाई राहत रकम वितरण सुरु गरेको छ । विपत्पछिको क्षतिको मूल्याङ्कन गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा कार्यदल गठन गरी प्रभावित आठ जिल्लामा आवश्यक, समन्वय सहकार्य र विपत्मा परेका नागरिकको सहजीकरणका लागि कार्यदल खटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्