राजमार्गका होटलमा रात्रिकालीन छड्के : एक रिसोर्टलाई २० हजार जरिवाना



मलेखु (धादिङ),असोज १८ । पृथ्वी राजमार्गमा बढिरहेको सवारी चाप र चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले बजार अनुगमनलाई तीव्र पारेको छ । 

अनुगमनका क्रममा बुधवार साँझ पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–३ मा सञ्चालित पिस हेभन रेष्टुरेन्ट एण्ड रिसोर्टलाई रू. २० हजार जरिवाना गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको नेतृत्वमा गएको अनुगमन टोलीले उक्त रिसोर्टमा खानेकुरा खुला छाडेकाले झिँगा भन्किएको फेला पारेपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को उपदफा ३९ को १ को ‘क’ बमोजिम जरिवाना तिराएको हो । पुनः यस्तो भेटिएमा कानुनबमोजिम हदैसम्मको कारबाही गरिनेसमेत अनुगमन टोलीले चेतावनी दिएको छ ।

धादिङ जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र शाही, उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख चुणामणि पुरीसहितको अनुगमन टोलीले पृथ्वी राजमार्गअन्तर्गत पर्ने गजुरी गाउँपालिकाको आदमघाट र मलेखु क्षेत्रका होटल तथा रिसोर्ट र खाद्यान्न पसलको पनि अनुगमन गरेको छ । 

अनुगमनका क्रममा व्यवसायीहरूलाई सचेत गराइएको र कार्यविधिअनुसार विक्री गर्न निर्देशन दिइएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला अनुगमन समितिका संयोजक युवराज अर्यालले जानकारी दिए । 

चाडपर्वको बेला जिल्लाका विभिन्न स्थानमा अखाद्य वस्तुको विक्री भएको, तोकिएको मूल्यभन्दा बढी रकम लिएको र सरसफाइमा ध्यान नदिएको भन्ने गुनासो आएपछि बजार अनुगमनलाई तीव्रता दिएको अर्यालले बताए । 

चाडपर्वका बेला उपभोक्तासँग बढी मूल्य लिने, गुणस्तरहीन वस्तु, म्याद नाघेका सामान, लेबल नभएका सामान विक्री गर्नेलगायत कार्य बढी हुने भएकाले अनुगमन तीव्र पारिएको उनको भनाइ छ ।

चाडपर्वको मौका छोपेर विशेषतः पृथ्वी राजमार्गअन्तर्गत जिल्लामा सञ्चालित होटलले खाना, खाजाको मूल्य बढी लिने गरेको यात्रुहरूले गुनासो गर्दै आइरहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्