प्रकाशमान सिंहको नाम प्रधानन्यायाधीशमा अनुमोदन
काठमाडौं,असोज १७। संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
सिंहदबारमा बिहीबार बसेको समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश राउतले २४बुँदे कार्ययोजना प्रस्तुत गरेका थिए। संवैधानिक परिषद्को गत भदौ ३१ गते बसेको बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको यही असोज १९ गते पदावधि सकिँदैछ ।
न्यायपरिषद्ले रिक्त प्रधानन्यायाधीश पदमा वरिष्ठतम् न्यायाधीशमध्येबाट राउतको नाम सिफारिस गरेर संवैधानिक परिषद्मा पठाएको थियो । प्रधानन्यायाधीशमा राउतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
यसैबीच, बुधबार नै संसदीय सुनुवाइ समितिले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम सर्वसम्मत अनुमोदन गरेको छ । उनले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै राष्ट्रहितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकि थिइन् ।