कोशीका तीन जिल्लामा ६ हजार ९८५ मेटन धानबाली नष्ट



विराटनगर,असोज १७ । कोशी प्रदेशका तीन पहाडी जिल्लामा ३ हजार ९ सय १५ हेक्टरमा लगाइएको धानबालीमा बाढीपहिरोले क्षति पुर्‍याएको छ । बाढीपहिरोले ओखलढुंगा, तेह्रथुम र खोटाङमा ६ हजार ९ सय ८५ मेट्रिकटन (मेटन) धानबाली नष्ट भएको हो । बाढीपहिरोमा परेर यी तीन जिल्लामा १९१ पशुचौपाया मरेका छन् ।

कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको विवरण अनुसार तीन जिल्लामा पहिरोबाढीले उक्त क्षति भएको हो । अन्य जिल्लाको क्षतिको विवरण आउने क्रममा रहेको मन्त्रालयका प्रवक्ता पशुपति पोखरेलले बताए ।

उनका अनुसार मन्त्रालयमा क्षतिपूर्तिको व्यवस्थाका लागि बजेट छुट्ट्याइएको छैन । तर सबै विवरण संकलन भएपछि सरकारले निर्णय गरेर क्षतिपूर्ति वा राहत दिन सक्ने उनले बताए । कतिपय जिल्लामा विद्युत् आपूर्ति र सञ्चार सम्पर्कमा समस्या आएकाले क्षतिको विवरण संकलनमा कठिनाइ भएको उनको भनाइ छ ।

जिल्ला जिल्लामा कृषि बीमा गर्न नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीलाई निर्देशित गरेकाले कतिपय किसानले बाली र पशुपन्छीको बीमा गरेका छन् । उनीहरूले बीमा कम्पनीबाट क्षतिको अवस्था र नियमानुसार दाबी भुक्तानी पाउँछन् । तर बीमा नगरेका किसानलाई राहत वा क्षतिपूर्ति दिनुपरे सरकारको दायित्व बढ्ने मन्त्रालयका प्रवक्ता पोखरेलले बताए ।

असोज १२ गते आएको बाढीपहिरोले ओखलढुंगाका मानेभञ्ज्याङ, सुनकोशी र चम्पादेवी गाउँपालिकाको १३ हेक्टर धानबालीमा नष्ट गरेको थियो । बाढीपहिरोले तीन पालिकामा ८७ मेटन धानबालीमा क्षति पुगेको छ । त्यस्तै तेह्रथुमका मेन्छायामेम, आठराई, छथर, फेदाप गाउँपालिका तथा म्याङलुङ र लालिगुराँस नगरपालिकामा ३४ हेक्टरमा लगाएको धानबालीमा क्षति पुर्‍याएको छ । बाढीपहिरोले यी पालिकामा ५३ मेटन धानबाली नष्ट क्षति भएको छ । धानबालीबाहेक अलैंची, हिउँदे मकै, कोदो, लगायत बालीमा समेत क्षति पुगेको मन्त्रालयले बताएको छ । 

त्यसैगरी खोटाङका दिक्तेल रूपाकोट मझुवा र हलेसी तुवाचुङ नगरपालिकासहित खोटेहाङ, साकेला, ऐंसेलुखर्क र जन्तेढुंगा गाउँपालिकामा सबैभन्दा बढी धानबालीमा क्षति पुगेको छ । यी पालिकामा ३९ सय १५ हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ, जसबाट ६८ सय ४६ टन धानबाली नष्ट भएको मन्त्रालयको विवरण छ । बाढीपहिरोले जिल्लामा अलैंची, कोदो र तरकारी बालीमा पनि क्षति पुगेको छ ।

मन्त्रालयको विवरणअनुसार पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटा, सुनसरी, तेह्रथुम, सोलुखुम्बु र ओखलढुंगामा बाढीपहिरोले गोठ बगाउँदा १९१ पशुचौपाया मरेका छन्, जसमा गाईबाच्छी ३३ ओटा, गोरुबाच्छा ३, भैंसी ७, राँगा २, पाडो १, बाख्रा ७९, बंगुर ४५, कुखुरा २१ ओटा छन् । त्यस्तै यी जिल्लामा बाढीपहिरोले २४ ओटा गोठ तथा खोर बगाएको छ ।

व्यावसायिक रूपमा ठूला कृषि तथा पशुफार्म सञ्चालन गरेर बसेका किसानले क्षतिबारे जानकारी नगराएको र क्षतिपूर्तिबारे सरकारले पनि अहिलेसम्म निर्णय लिइनसकेको प्रदेशको उद्योग, कृषि तथा सहकारीमन्त्री खगेन सिं हाङ्गामले बताए । ‘ससाना क्षेत्रफलमा लगाइएको बाली र पशुचौपायाको किसानलाई बीमाबारे सचेतना कार्यक्रम मन्त्रालयले विगतदेखि नै चलाइरहेको छ,’ उनले भने, ‘बीमा गरेका किसानले सम्बन्धित कम्पनीबाट दाबी भुक्तानी पाउँछन् ।’ किसानलाई मनसुनजन्य घटनाबाट हुने आर्थिक लगायत क्षतिको भार पर्न नदिन कृषि तथा पशुपन्छी बीमाबारे सचेतना कार्यक्रम थप प्रभावकारी बनाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्