भारी वर्षाको सम्भावना, यात्रा गर्दा सावधानी अपनाउन प्राधिकरणको आग्रह



काठमाडौ,असोज १६ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबारदेखि बागमती, कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणका उपसचिव एवम् प्रवक्ता डा. डिजन भट्टराईले भारी वर्षाको सम्भावना असोज १८ गतेसम्म कायम रहने हुँदा सतर्कता अपनाउन आग्रह गरेका हुन्  ।

‘असोज १० देखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदा समेत ठूलो पहिरो जानसक्ने र कुनै पनि खोलामा एक्कासि बाढी आउन सक्ने जोखिम यथावतै छ ।’ प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ ।

प्राधिकरणले यात्राका क्रममा पनि सावधानी अपनाउन आग्रह गरेको छ । ठूलो पानी पर्दा सुरक्षित स्थानमा सवारी रोकेर तथा जोखिम हेर्दै यात्रा गर्न प्रवक्ता भट्टराईले आग्रह गरेका छन्  ।

‘यात्रारत रहँदा पहिरोको जोखिम हेर्दै सावधानीपूर्वक यात्रा गर्नुहुन, ठूलो पानी पर्न लागेको बेला सुरक्षित स्थानामा सवारी रोकी वर्षा रोकिएपछि मात्रा यात्रा गर्नुहुन र नदी किनाराका बस्तीमा एक्कासि बाढी आउन सक्ने सम्भावनालाई विचार गरी उच्च सतर्कता अपनाउनुहुन एवम् पहिरो जोखिम भएका स्थानका व्यक्तिहरु सुरक्षित स्थानमा स्थानान्तरण हुनुहुन सबैमा विनम्र अनुरोध छ ।’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्