बाढी पहिरो कहर : खोज, उद्धार र राहत वितरणको सरकारी अभियानलाई साथ दिन महासंघको अपिल
काठमाडौं,असोज १५ । बाढी पहिरो खोज, उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सबै जिल्ला संघहरुलाई अपिल गरेको छ ।
महासंघले मंगलवार प्रेस विज्ञप्ती जारी गर्दै सबै जिल्ला संघहरु बाढी पहिरोमा परेको नागरिकको खोज तथा उद्धा र राहत वितरणमा सरकारी अभियानमा सक्रिय सहभागिताको लागि अपिल गरेको हो ।
महासंघले मनसुनजन्य विपद्बाट सिर्जित बाढी, पहिरो र डुबानका कारण मुलुकभर आम नागरिकको जनजीवन अस्तव्यस्त हुनुको साथै जनधनको ठूलो क्षति भएको जानकारी दिएको छ ।
महासंघका अध्यक्ष सिताराम न्यौपाने द्वारा विज्ञप्तीमा भनिएको छ,‘ हालैको मनसुनजन्य विपद्बाट सिर्जित बाढी, पहिरो र डुबानका कारण मुलुकभर आम नागरिकको जनजीवन अस्तव्यस्त भएको छ । साथै जनधनको ठूलो क्षति भएको कुराबाट हामी अनविज्ञ छैनौँ । यस दुःखद् घडीमा नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघ गहिरो दुःख व्यक्त गर्दछ । यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउने सबै व्यक्तिहरुप्रति महासंघ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ । साथै मृतकका परिवाजनप्रति समवेना व्यक्त गर्दछ ।’
महासंघ घाइतेहरुको निःशुल्क उपचार गर्ने सरकारी कदमको प्रशंसा गर्दै विपत्तिका कारण विस्थापित भएका नागरिकहरुलाई यथाशिघ्र राहत उपलब्ध गराई उनीहरुको पुनःस्थापनाको उपयुक्त व्यवस्था गर्न सरकारसमक्ष जोडदार माग गरेको छ ।
प्राकृतिक प्रकोपबाट प्रभावित सबै क्रसर तथा खानी उद्योग व्यवसायीहरुलाई आफ्नो क्षतिको विवरण महासंघको सचिवालयमा उपलब्ध गराउन समेत अपिल गरेको छ।