प्रस्तावित प्रधान न्यायाधीशको संसदीय सुनुवाइ भोलि
काठमाडौ,असोज १५ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतको सुनुवाइ बुधबार गर्ने भएको छ । समितिले राउतका विषयमा प्राप्त उजुरी सदस्यलाई वितरण गर्दै सुनुवाइको मिति तोकेको हो।
मङ्गलबार समितिले उजुरीकर्तासँग छलफल गर्ने छ। उजुरीकर्तासँगको छलफलपछि प्रस्तावित प्रधान न्यायाधीशको सुनुवाइको निर्णय समितिले गरेको हो। राउतविरुद्ध फैसलासँग सम्बन्धितसहित छ वटा उजुरी परेका छन् ।
राउतविरुद्ध अधिकांश उजुरीकर्ताले नाम उल्लेख गरे पनि एउटा बेनामे छ । उजुरीमध्ये चार वटा मुद्दा फैसलासँग सम्बन्धित छन् । नेपाली सेनाको विवाद जोडिएका विषय, जग्गा विवादको मुद्दामा फैसला, चेतन ऐडी हत्या प्रकरणका अभियुक्तलाई तारेखमा रिहा गरेको विषय उजुरीमा समेटिएका छन् । सेनाको कोर्टमार्सलका घटनासँग सम्बन्धित आदेशका दुई उजुरी परेका छन् । बेनामे एक उजुरीमा भने राउतको नैतिक चरित्रमाथि प्रश्न उठाइएको छ । श्रीमतीको विवाद जोडेर नैतिकवान् नरहेकाले प्रधान न्यायाधीश नियुक्त गर्न नमिल्ने उल्लेख छ ।
प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अवकाश पाउनुअघि नै राउतको सुनुवाइ सक्ने गरी समितिले कार्यतालिका अघि बढाएको हो । राउतको हकमा सुनुवाइलगत्तै निर्णयको तयारी छ । सुनुवाइ प्रक्रिया प्रारम्भ भएको ४५ दिनभित्र निर्णय गरिसक्नुपर्ने व्यवस्थासमेत छ ।