पनौती जलविद्युत् केन्द्रको उत्पादन बन्द
काठमाडौ,असोज १५ । अविरल वर्षासँगै आएको पहिरोका कारण नेपालको तेस्रो पुरानो जलविद्युत् आयोजना ‘पनौती जलविद्युत् केन्द्र’ को उत्पादन रोकिएको छ । केन्द्रको पावरहाउस पहिरोका कारण शनिबार बिहान २ बजेदखि विद्युत् उत्पादन बन्द भएको हो ।
पनौती जलविद्युत् केन्द्रका प्रमुख सविना उप्रेतीले पहिरोसँगै आएको लेदो र पानीलगायतका सामग्रीले पावरहाउसभित्र रहेका उपकरण डुबेको जानकारी दिए ।
उनले पावरहाउसभित्र रहेका तीन वटा टर्वाइन, प्यानल सर्किट, ब्रेकर प्यानल, एभिएस प्रणालीलगायतको उपकरण डुबेको बताए । “अहिले हामी पावर हाउसभित्र रहेका मेसिन तथा उपकरण थप बिग्रन नदिन पानी तथा लेदो सफा गर्ने काम गरिरहेका छौँ,” केन्द्रका प्रमुख उप्रेतीले भने ।
पावरहाउसका साथै बाँधबाट पावरहाउससम्म पानी ल्याउनका लागि बनाइएको क्यानल (कुलो) को विभिन्न स्थानमा समेत पहिरोका कारण क्षति पुगेको उनले बताए ।