बाढीबाट जोगिएका सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित



ललितपुर,असोज १५। शुक्रवारदेखिको अविरल वर्षाका कारण शनिवार काठमाडौं उपत्यकाको बागमती नदीमा आएको बाढीले धेरै ठाउँमा ठूलो जनधनको क्षति पुर्‍यायो । ललितपुरको टीकाभैरव भएर बग्ने नख्खुखोला छेउका बस्ती पूर्णरूपमा डुबानमा परे । घर, पसल र बासस्थानमा पानी पसेर यहाँको जनजीवन, व्यापार, व्यवसाय अस्तव्यस्त छ । खोला किनारामा बसोबास गर्नेहरूको टहरासहित सबै सरसामान बगाएको छ ।

शनिवार बेलुकीदेखि नख्खु खोलाको बहाव घटेपछि बाढीपीडितहरू बाढीबाट जोगिएका तर निथ्रुक्क भिजेका सरसामानको व्यवस्थापनमा जुटेका छन् । हाल घर, पसल तथा भवनका कोठाभित्र पसेको लेदो हटाउने काम भइरहेको छ । 

मोटरसाइकल, गाडीलगायत धेरै सामग्री बगाएको कतिपय बाढीपीडितको भनाइ छ । बाढीले आफ्ना ६ बङ्गुर र ७० हाँस तथा लोकल कुखुरा बगाएको ललितपुर महानगरपालिका–१८ नख्खुपुल छेउमा बस्दै आएकी रेणुका लिम्बूले बताइन् । उनले भनिन्, ‘शुक्रवार राति १२ बजे कोठाभित्र पानी पसेको थियो । पानी पस्नेबित्तिकै सामान अर्को ठाउँमा सार्दै थियौं । सामान सार्दासार्दै खोला बढ्दै गएर बिहान ७ बजेसम्म सबै बगायो । हाम्रो मात्र होइन, अरूको पनि धेरै क्षति भएको छ ।’ 

ललितपुर महानगरपालिका–१४ नख्खुडोल र ललितपुर वडा नं २५ भैंसेपाटी जोड्ने पुलमा बाढीले क्षति पुर्‍याएपछि अहिले आवतजावतमा रोक लगाइएको छ । नख्खुडोल पुल छेउमा बसोबास गर्नेको अस्थायी टहरा सबै बगाएको छ । खोलाले डुबाएको सरसमान व्यवस्थापनका लागि बाढीपीडित आफन्तको सहायता लिएर जुटेका छन् । 

करीब रू. १३ लाख लगानी रहेको नर्सरी र अस्थायी टहरामा रहेको सबै सरसमान बगाएको स्थानीय रोम रानाको भनाइ छ । उनले भनिन्, ‘समाचारका अनुसार बाढी आउला कि भनेर हामी सचेत त थियौं । तर, तत्काल सरसमान अर्को ठाउँमा सार्ने अवस्था भएन । जब राति कोठामा पानी पस्यो त्यसपछि महत्त्वपूर्ण कागजपत्र निकाल्न भ्यायौं, अरु सबै बाढीले बगायो । अब के खाने र कहाँ बस्ने भन्ने चिन्ता छ । तत्कालका लागि त आफन्तकहाँ बसेका छौं ।’

त्यसैगरी नख्खु डोलमा पाँचओटा पसल बगाएको छ । अस्थायी टहरामा सञ्चालित पसल पूर्णरूपमा बगाएकाले कति क्षति भएको छ भन्ने यकिन गर्न नसकिएको स्थानीय बताउँछन् । दुःखले जोडेको सबै सामान बगाएकामा बाढीपीडित नारायण सुनुवार हाल निकै चिन्तामा छन् । ‘म मजदुरी गरेर जीविका चलाउने मान्छे हुँ । काम गरिखाने सबै सामग्रीसमेत बगाएको छ । अब कहाँ बस्ने, के खाने भन्ने चिन्ता छ । अहिलेसम्म कतैबाट राहतको व्यवस्था भएको छैन । ज्यान जोगिए पनि लत्ताकपडा र अत्यावश्यक सबै सामान बगाएको छ,’ उनले भने । 

नख्खु खोलाले क्षति पुर्‍याएको ठाउँमा तत्काल विद्युत्, पानी र बाटोको व्यवस्थापनमा जुट्ने ललितपुर महानगरपालिका–१३ का वडाअध्यक्ष गणेश केसीले बताए । उनले भने, ‘नख्खु खोलाले क्षति पुर्‍याएकोमा हामी निकै दुःखी छौं । हाम्रो वडामा अवरोध भएको बाटो, विद्यत् र खानेपानी आपूर्ति व्यवस्थापनलाई पहिलो प्राथामिकता दिएर व्यवस्थापनमा लागिरहेका छौं ।’ रासस

प्रतिक्रिया दिनुहोस्