बंगलादेशसँग एक दशकदेखि निरन्तर व्यापार घाटा



विराटनगर,असोज १४  । नेपालले बंगलादेशसँग व्यापार घाटा बेहोर्न थालेको एक दशक भयो । बंगलादेशसँग नेपालको व्यापार बचतमा भइरहेकोमा आर्थिक वर्ष २०७१/७२ देखि व्यापार घाटा हुन थालेको हो । त्यसपछि अवस्थामा सुधार आएको छैन । गत आर्थिक वर्ष २०८०/८१ मा देशले ३ अर्ब १३ करोड ५२ लाख ५६ हजार रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको सरकारी आँकडा छ । नेपालबाट ४६ करोड ३१ लाख ८९ हजार निकासी भएको छ भने त्यही समयमा बंगलादेशबाट ३ अर्ब ५९ करोड ८४ लाख ४५ हजार मूल्य बराबरको सामान आयात भएको छ । बंगलादेशसँगको व्यापार घाटालाई सन्तुलित बनाइरहेको मसुरो दालको निकासी ठप्प भएपछि व्यापार घाटा बढ्दै गएको हो ।

‘दश वर्षदेखि नेपाल–बंगलादेश व्यापारमा नेपालले व्यापार घाटा बेहोरिरहेको छ,’ मेची भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले भने, ‘विद्युतीय सामग्रीदेखि खाना पकाउने प्रेसर कुकरसमेत बंगलादेशबाट आयात भइरहेको छ ।’ नेपालबाट जाने कृषि उत्पादन र औद्योगिक उत्पादनको निर्यात घटेकाले व्यापार घाटा बढेको तथ्यांकले देखाएको छ । यद्यपि केही वर्षयता भने बंगलादेशसँग व्यापार घाटा घट्दै गएको छ । 

भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७९/२०८० मा रू. ५ अर्ब १८ करोड ९ लाख १२ हजारको व्यापार घाटा भएको छ भने आर्थिक वर्ष २०७८/२०७९ मा रू. १० अर्ब ३७ करोड ७९ लाख ७९ हजारको व्यापार घाटा भएको थियो ।

नेपाल बंगलादेश चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष पन्नालाल जैनले भारतसँग बढिरहेको व्यापार घाटा कम गराउन समय लाग्ने भए पनि सरकारले प्रयास गरेमा बंगलादेशसँगको व्यापार घाटालाई बचतमा लैजान सकिने बताए ।

नेपाली कृषि उपजलाई बंगलादेशले ८० प्रतिशतसम्म भन्सार लगाएकाले यहाँको उत्पादन जति परिमाणमा जानुपर्ने हो, त्यति जान नसकेको उनले बताए । नेपाली उत्पादनमा बढी भन्सार लगाएको कारण म्यानमारबाट अवैध रूपमा कृषि उपज बंगलादेश गइरहेको उनको भनाइ छ । नेपाली उत्पादनले भने त्यहाँको बजार गुमाउँदै गएकोमा उनले चिन्ता व्यक्त गरे ।

केही औद्योगिक उत्पादन समेतको माग घटेकाले पनि व्यापार सन्तुलनमा राख्न कृषि उत्पादनको खुला व्यापार सम्झौतामा जानुपर्ने जैनले बताए । बंगलादेशमा बिजुली बेच्न सकिए व्यापार घाटा घटाउन केही मद्दत पुग्ने सरकारी अधिकारीहरूको विश्वास छ । नेपालको बिजुली बंगलादेश विक्री गर्न छिट्टै नेपाल, भारत र बंगलादेशबीच सम्झौता हुने सरकारी अधिकारीहरूले बताएका छन् ।

दुई साताअघि मेचीनगर नगरपालिकाका मेयर गोपालबहादुर बुढाथोकीसहितको टोलीले बंगलादेशको भ्रमण गरी नेपाली कृषि उपज निर्यातको सम्भावनाबारे अध्ययन गरेर आएको थियो । सन् २०१९ मा बंगलादेशको राजधानी ढाकामा भएको नेपाल–बंगलादेश वाणिज्य सचिवस्तरीय बैठकमा नेपालका कृषिजन्य उत्पादनसहित १०८ प्रकारका सामग्रीलाई भन्साररहित सुविधा दिन सहमति भए पनि द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुन नसक्दा कार्यान्वयनमा आउन सकेको छैन ।

बंगलादेशले नेपालका १०८ वस्तुलाई भन्सारसहित सुविधा दिने र नेपालले पनि माछा, आलु चिप्स, रेफ्रिजेरेटर, ब्याट्री, गार्मेन्ट, प्लास्टिकजन्य वस्तु, सिमेन्ट, सुर्ती, टमाटरको सस, बिस्कुटलगायत ५० वस्तुमा भन्सार नि:शुल्क गर्ने भनेको थियो । 

प्रतिक्रिया दिनुहोस्