अतिरिक्त शुल्क मिनाहा गरिदिन अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्ने कम्पनीलाई प्राधिकरणको आग्रह
काठमाडौं,असोज १४ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले गत असोज ११ गते शुक्रबारदेखि असोज १६ गते बुधबारसम्म टिकट लिएका तथा मिति परिवर्तन गरेका यात्रुलाई लाग्ने अतिरिक्त शुल्कमा छुट दिन अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालकलाई अनुरोध गरेको छ ।
पछिल्लो समय आएको बाढी पहिरोका कारण समयमै उडान सञ्चालन प्रभावित भएकाले यात्रुलाई राहत पुर्याउने उद्देश्यले सो आग्रह गरिएको प्राधिकरणले जनाएको छ ।
मौसमप्रतिकूलताका कारण पछिल्लो दुई दिनयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा वर्षा मापन शुरु भएयताकै सबैभन्दा बढी वर्षा भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वर्षा मापन केन्द्रमा शनिबार बिहान २४ घण्टामा २३९ दशमलव ७ मिलिमिटर वर्षा भएको मौसमविद् रोजन लामिछानेले जानकारी दिए । यो वर्षाले सन् २००२ मा कायम गरिएको १७७ मिलिमिटरको रेकर्ड तोडेको उनले बताए ।