बाढी पहिरोले सञ्चालनमा रहेका ११ र निर्माणाधीन १५ जलविद्युत् आयोजनामा क्षति
काठमाडौं,असोज १४ । वर्षासँगै आएको बाढीपहिरोका कारण जलविद्युत् आयोजनामा क्षति हुँदा १ हजार १०० मेगावाट विद्युत उत्पादन रोकिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आइतवार जारी गरेको प्रेस विज्ञप्तिअनुसार बाढीपहिरोका कारण अधिकांश विद्युत् गृहको उत्पादन बन्द भएको उल्लेख छ । बाढीपहिरोका कारण ११ ओटा सञ्चालनमा रहेका र १५ ओटा निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति भएको छ । तीमध्ये सञ्चालनमा रहेका जलविद्युत आयोजनाको कुल जडित विद्युत् क्षमता ६२५.९६ मेगावाट छ भने निर्माणाधीन आयोजनाको कुल जडित क्षमता १ हजार १०.२९ मेगावाट छ ।
मन्त्रालयका अनुसार बाढीपहिरोका कारण जलविद्युत् आयोजनामा २ अर्ब ४५ करोड रुपैयाँ बराबरको क्षति भएको छ । क्षतिसम्बन्धी विवरण एवं तथ्यांकहरू अझै संकलन भइरहेको मन्त्रालयले जनाएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालको पछिल्लो विवरणमा भने बाढीपहिरोका कारण १५ ओटा जलविद्युत् आयोजनामा २ अर्ब ३१ करोड बराबरको क्षति भएको उल्लेख छ । इप्पानले बाढीपहिरोका कारण देशभरका २० जलविद्युत् आयोजनामा क्षति पुगेको बताएको छ ।
गत बिहीवार बेलुकादेखि शनिवारसम्म मुलुकभर वर्षा भएको थियो । वर्षाका कारण विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबान भएको थियो ।