झ्याप्लेखोला पहिरोमा परेका तीन गाडीबाट हालसम्म ३५ शव निकालियो



काठमाडौं,असोज १३ । धादिङ र काठमाडौंको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा आइतबार दिउँसो ३ बजेसम्म ३५ शव फेला परेका छन्। हालसम्म तीन वटा फरक गाडीबाट ३५ जनाको शव सुरक्षाकर्मीहरुले निकालेका हुन्।

शनिबार साँझ झ्याप्ले खोलामा पहिरोले गाडी पुरिएको देखिएपछि उत्खनन् सुरु भएको थियो । सो क्रममा शनिबार राति १४ वटा शव सुरक्षाकर्मीले निकालेका थिए। जसमध्ये ८ पुरुष र ६ महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले दिए।

शनिबार राति एक बालक, पाँच महिला र आठ पुरुषको शव निकालेको उद्धार टोलीले आइतबार बिहान थप दुई वटा गाडीबाट २१ जनाको शव निकालिएको हो। जसमा १७ पुरुष र ४ महला रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिए।

पुरिएका सवारीसाधन धुजाधुजा अवस्थामा रहेको र शव पनि छुट्टाछट्टै भेटिएकाले कुन सवारीसाधनको शव कुन हो भन्ने यकीन गर्न कठिन छ।

पुरिएको अवस्थामा फेला परेका सवारीसाधन टुक्राटुक्रा बनेकाले नम्बर पहिचान गर्न कठिन भएको सूचना अधिकारी सिलवालले जानकारी दिए।

गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसको भने यकीन भएको छ। एस्काभेटरले पहिरो खोतल्ने क्रममा बसको छतको डण्डीमा चालक मदन परियारको शव देखिएपछि बसको यकीन भएको यातायात व्यवसायी अर्जुन भट्टले जानकारी दिए।

पहिरोले पुरिएको अवस्थामा फेला परेको सो बसमा मुग्लिनसम्म चालक दलका तीन र एक यात्रु रहेको भनिएपछि बीच बाटोबाट यात्रु चढाएको हुनसक्ने अनुमान छ।

त्यस्तै, चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौंका लागि छुटेको माइक्रोबस ९जम्बो हाइस० पनि झ्याप्ले खोलाको पहिरोमा पुरिएको र त्यसमा कति यात्रु थिए भन्ने यकीन नभएकाले पहिरोमा अझ थुप्रै शव भेटिनसक्ने आशङ्का गरेर उद्धार टोलीले खोजीकार्य तीव्र पारेको छ।

शुक्रबार अपराह्न करिब २ बजे मनकामना माई यातायात प्रालिमार्फत सञ्चालित बा २ ख १३४५ नम्बरको बस सम्पर्कविहीन रहेको प्रालिका अध्यक्ष नरबहादुर रानाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्