इजरायली आक्रमणमा आफ्ना नेता हसन नसरल्लाहको मृत्यु भएको हिजबुल्लाहको पुष्टि



इजरायल,असोज १३ । इजरायली आक्रमणपछि हिजबुल्लाहले आफ्ना नेता हसन नसरल्लाहको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । इजरायली सेनाले शुक्रवार राति बेरुतमा गरेको आक्रमणमा हिजबुल्लाहका प्रमुखको मृत्यु भएको घोषणा गरेपछि यो पुष्टि भएको हो । सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल नादाव शोशानीले भने, ‘हसन नसरल्लाहको मृत्यु भएको छ ।’ 

शोशानीले एक अनलाइन प्रेस ब्रिफिङमा इजरायली सेना नसरल्लाहको मृत्यु भएकोमा विश्वस्त रहेको बताए । सेनाका अर्का प्रवक्ता क्याप्टेन डेभिड अवराहमले पनि लेबनानको राजधानी काबुलमा शुक्रवार भएको आक्रमणपछि हिजबुल्लाहका प्रमुखको मृत्यु भएको पुष्टि गरेका छन् ।

इरान समर्थित समूहसँग निकट स्रोतले नाम नबताउने शर्तमा एएफपीलाई दिएको जानकारीअनुसार शुक्रवार साँझदेखि नसरल्लाहसँग सम्पर्क टुटेको छ ।

सन् २००६ मा हिजबुल्लाहसँग इजरायलको अन्तिम युद्धमा उनको मृत्यु भएको हल्ला चलेको थियो । पछि उनी पुनः सम्पर्कमा आएको स्रोतले बताएको छ । इजरायलको आक्रमणमा हिजबुल्लाहको दक्षिणी मोर्चाका कमाण्डर अली काराके र हिजबुल्लाहका अन्य केही अन्य कमाण्डरको पनि मृत्यु भएको सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हिजबुल्लाहको सिनियर चेन अफ कमाण्डले मुख्यालयबाट काम गरिरहेको र इजरायली राज्यका नागरिकविरुद्ध आतङ्कवादी गतिविधि अघि बढाइरहेको अवस्थामा उक्त आक्रमण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

हिजबुल्लाहको महासचिवका रूपमा हसन नसरल्लाहको ३२ वर्षे शासनकालमा उनी धेरै इजरायली नागरिक र सैनिकहरूको हत्या र हजारौं आतङ्कवादी गतिविधिहरूको योजना र कार्यान्वयनका लागि जिम्मेवार रहेको विज्ञप्तिमा भनिएको छ। उनी विश्वभरि आतंकवादी आक्रमणहरूको निर्देशन र कार्यान्वयनको लागि जिम्मेवार रहेको बताइएको छ, जसमा विभिन्न राष्ट्रियताका नागरिकहरूको हत्या गरिएको थियो। नसरल्लाह संगठनको केन्द्रीय निर्णयकर्ता र रणनीतिक नेता थिए।

हालैका दिनहरूमा इजरायलले लेबनानमा गरेको विभिन्न आक्रमणमा ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । एएफपी/रासस

प्रतिक्रिया दिनुहोस्