ज्यान जोखिममा राखेर उद्धार गर्ने चणिकलाल तामाङ



काठमाडौ,असोज १३ । ललितपुर–२५, सुगम बस्तीमा फसेका चार जनामध्ये तीन जनाको चणिकलाल तामाङले नदीमा पसेर दुई जनाको उद्धार गरेका छन् । उनले आफ्नो ज्यान जोखिममा पारेर सुरक्षा निकायले उद्धार गर्न नसकेका व्यक्तिको उद्धार गरेका हुन् । उद्धार गरिएको व्यक्तिलाई पूर्वप्रहरी नायव महानिरीक्षक (पूर्वडिआइजी) अशोक सिंहले तत्काल अस्पतालसम्म पुर्‍याएर जीवन बचाए। 

पूर्वडिआइजी सिंहका अनुसार नक्खु खोला किनारमा ग्रिल कारखाना र कवाड सामान राख्ने टहरोमा रौतहट घर भई सुगम बस्ती टोलमा बस्ने राजु साह, उनकी छ वर्षीय छोरी मेघना साह, राजुका भाइ राज साह र राजकी चार वर्षीय छोरी सेर्तु साह बसेका टहरोलाई नदीले डुबाएको थियो ।

चारैतिर खोलाले घेरेका उनीहरू छानामाथि चढेर उद्धारको याचनासहित केहीबेर हात हल्लाइरहे । केहीबेरमै खोलामा टहरासँगै चारै जनालाई बगाएर लग्यो । कोही पनि खोलामा पसेर उद्धार गर्ने अवस्था भएन । गृहमन्त्री रमेश लेखकले हेलिकोप्टर उडान गर्न नसकेको र सुरक्षाकर्मीले पनि उद्धार गर्न सक्ने अवस्था नरहेको बताएका थिए तर त्यही बेला काभ्रेपलाञ्चोक तेमाल–९ का चाणिकलाल तामाङ उर्लिएको नक्खु खोलमा हेलिएर दुई जनालाई किनारमा ल्याउन सफल भए । पेसाले पेन्टरको काम गर्ने चणिकलालले टहरासँगै बगेर दुई सय मिटर तल पुगेका दुई जनालाई उद्धार गरेपछि पूर्वडिआइजी सिंहले गाडीमा राखेर पाटन अस्पताल पुर्‍याई दुई जनाको ज्यान बचाए ।  

प्रतिक्रिया दिनुहोस्