‘अति भारी वर्षा’ले निम्त्यायो बितण्डा, कम्तिमा ६६ जनाको मृत्यु र करोडौँको भौतिक क्षति



तारकेश्वर,असोज १३ । काठमाडौँ उपत्यका र देशका विभिन्न स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा भएसँगै बाढी पहिरोले ब्यापक मात्रामा जनधनको क्षति गरेको छ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौँमा अभिलेख राख्न थालेयता सबैभन्दा धेरै वर्षा भएको जनाएको छ ।

आजभन्दा ५४ वर्ष अघि सन् १९७० देखि जल तथा मौसम विज्ञान विभागले वर्षाको अभिलेख राख्न थालेको थियो । त्यसयता २०५९ सालमा काठमाडौँमा सर्वाधिक १७७ मिलिमिटर वर्षा मापन भएको थियो । तर शुक्रबार विहान ८ः४५ देखि शनिबार विहान ८ः४५ बजेसम्मको २४ घण्टामा २३९.७ मिलिमिटर वर्षा भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

ब्यापक वर्षाका कारण एकै दिनमा ठूलो जनधनको क्षति भएको छ । गृह मन्त्रालयले शनिबार साँझ ६ बजे प्रेस विज्ञप्ती निकालेर असोज १० गतेदेखि परेको अविरल वर्षाका कारण भएको क्षतिको विवरण सार्वजनिक गरेको छ । त्यसमा बाढी, पहिरो र डुबानका घटनामा देशभर ६६ जनाको मृत्यु भएको, ६९ जना बेपत्ता रहेको र ६० जना घाइते भएको जनाएको छ ।

त्यस्तै सशस्त्र प्रहरीले साँझ ८ बजेतिर मृत्यु हुनेको संख्या ७६ पुगिसकेको बताएको छ । ७२ जना बेपत्ता र ३६ जना घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ । यस्तै देशभर १९५ स्थानमा भौतिक क्षति भएको प्रहरीले जनाएको छ ।

यसरी विभिन्न निकायका अलग अलग तथ्यांकले मानवीय क्षतिको वास्तविक आँकडा आउन समेत प्रतीक्षा गर्नुपर्ने देखिएको छ ।

सशस्त्रले उपत्यकाका ३ जिल्लामा मात्रै १४५७ जनाको उद्धार गरिएको जनाएको छ । उपत्यकामा ३४ को मृत्यु, २१ जना बेपत्ता र १५ जना घाइते भएका छन् । कोशीका पाँचथर, ओखलढुङ्गा, सोलुखुम्बु, धनकुटा, झापा, मोरङ र सुनसरीमा गरी ७५३ जनाको उद्धार गरिएको, १० जनाको मृत्यु भएको, ९ जना बेपत्ता रहेको र २ जना घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ ।

मधेशको रौतहट र महोत्तरीमा ५५ जनाको सकुशल उद्धार गरिएको र १ जना बेपत्ता भएको प्रहरीको भनाइ छ । बागमती प्रदेशमा उपत्यका बाहेक दोलखा, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर र चितवनमा गरी ४९४ जनाको उद्धार गरिएको, २९ जनाको मृत्यु भएको, १९ जना घाइते रहेको र ३९ जना बेपत्ता रहेको सशस्त्रले जनाएको छ ।

लुम्बिनी प्रदेशमा पनि २ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । बागमती प्रदेशले सर्वाधिक मानवीय क्षति व्यहोरोको गृह मन्त्रालय र सुरक्षा निकायहरुले जनाएका छन् । त्यसमा पनि सबैभन्दा ठूलो मानवीय क्षति काठमाडौँ उपत्यकाका ३ जिल्लामा भएको छ ।

ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा ५ जनाको ज्यान गएको विवरण प्रहरीले दिएको छ । काठमाडौंको नागढु्गादेखि मुनि (सुरुङ मार्ग निर्माणाधिन क्षेत्र नजिकै) झ्याप्से खोलामा पहिरोमा पुरिएका दुई वटा बसबाट शनिबार साँझ अबेरमात्रै १४ जनाको शव निकालिएको छ ।

काठमाडौँमा २२०० घरहरु डुबानमा परेका छन् । कयौँ घरहरु पहिरो र नदी कटानको पचेटामा परेका छन् । सिन्धुलीको खुकोट बजार पनि डुबानमा परेको छ । बीपी राजमार्गका केही भागहरु नदी कटानमा पर्दा शीघ्र पुनःनिर्माण सम्भव नहुने अवस्था बनेको छ ।

उपत्यकासँग जोडिएका सबै प्रमुख राजमार्गहरु अवरुद्ध हुँदा राजधानी र मोफसलको सम्बन्ध टुटेको छ । मन्थलि विमानस्थल नै जलमग्न भएको छ । मौसमी प्रतिकुलताका कारण विमान सेवाहरु सञ्चालन हुन सकेका छैनन् ।

जलविद्युत् आयोजनाहरुमा पनि क्षति पुगेको छ । बागमती नदीमा पानीको बहाव ज्यादै बढेर १८ वर्षपछि कुलेखानी जलाशययुक्त जलविद्युत् आयोजनाको बाँधका ढोका खोल्नु परेको छ । शनिबार उक्त बाँधका ढोका खोलेसँगै २२ मेगावाट क्षमताको माण्डुखोला जलविद्युत् आयोजना डुबानमा परेको छ । कुलेखानी र त्यसदेखि तलमा घर, पसलहरु पनि डुबानमा परेका छन् ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँधस्थलमा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् । २२.१ मेगवाट क्षमताको तल्लो हेवा खोला जलविद्युत आयोजना पनि डुबानमा परेको छ । यो आयोजना पोहोरको बाढीले पनि डुबाएको थियो ।

प्रतिक्रिया दिनुहोस्