उद्धार र राहतमा सरकार गम्भीर छ : गृहमन्त्री लेखक



काठमाडौँ, असोज १२ । गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्जन्य घटनाबाट जोखिममा परेकाहरुको उद्धार र राहतमा सरकार गम्भीर रहेको बताएका छन् ।

केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जोखिममा रहेका मानिसहरुको उद्धारमा सरकार गम्भीर भएर काम गरिरहेको बताए । उनले अहिले काठमाडौँमा मात्रै साढे सात सयभन्दा बढी जोखिममा परेका मानिसहरुको उद्धार गरिएको बताए ।

उनले देशभर धेरै जनधनको क्षति भएको, सडक, पुल पुलेसाहरु बगेका कारण नागरिकको जनजीवन अस्तव्यस्त रहेकाले सहज बनउने काम भइरहेको बताए । उनले सबै नागरिकले शतर्कता अपनाएर विपद्बाट बच्न आग्रह गरे । उनले उद्धार, राहत र घाइतेको उपचारमा सरकार गम्भीर रहेको बताए ।

गृहमन्त्री लेखकले पुनःस्थापित र पुनर्निर्माण गर्ने काममा सरकार लागेको र सबै नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरे । उद्धार कार्य हुँदाहुँदै पनि नख्खु खोलामा केही मानिसहरु बगेको भन्दै हेलिकोप्टरको प्रयोग भिजिबिलिटीका कारणले सम्भव नभएको जानकारी गराए । उनले जोखिममा परेका सबैको उद्धार गर्ने, राहत गर्ने कामलाई अहिले प्राथमिकता दिएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्