खुल्यो संस्कृत विश्वविद्यालयको ताला



काठमाडौ,बैशाख ३ । नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लागेको ताला तीन महिनापछि खुलेको छ । संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयसहित विभिन्न शाखामा विद्यार्थी तथा आंशिक प्राध्यापक सङ्घले लगाएको ताला तीन महिना आठ दिनपछि खुलेको हो ।

१५ दिनको निरन्तर वार्ता र छलफलपछि बिहीबारदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयलगायतका विभिन्न शाखामा लगाइएका ताला खोलिएको विश्वविद्यालयकातर्फबाट वार्ता टोलीका संयोजक प्राध्यापक योगराज शर्माले जानकारी दिए । वार्ता टोली संयोजक शर्माका अनुसार विभिन्न विद्यार्थी सङ्गठन र आंशिक प्राध्यापकका माग सम्बोधनका लागि विश्वविद्यालय सहमत भएपछि ताला खोलिएको हो ।

आयुर्वेद चिकित्सा अध्ययनरत विद्यार्थीका लागि अस्पताल निर्माणका लागि तत्काल प्रस्तावना निर्माण गरी अघि बढाउने, ओपिडी कक्ष तत्काल सञ्चालन गर्ने, विद्यार्थीले पाउँदै आएको इन्टर्नसिपलाई निरन्तरता दिने, दुई करार शिक्षकको करार नवीकरण गर्ने र विश्वविद्यालयमा देखिएको आर्थिक तथा नीतिगत भ्रष्टाचारका विषयमा सबै सरोकारवाला पक्षलाई सचेत गराउँदै छानबिन गर्ने सहमतिपछि ताला खोलिएको वार्ता टोली संयोजक प्राध्यापक शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्