अरुण काबेली पावरले कात्तिक ४ मा बोलायो साधारण सभा



काठमाडौं,असोज ११। अरुण काबेली पावर लिमिटेडले १४औं वार्षिक साधारण सभा कात्तिक ४ गते गर्ने भएको छ । कम्पनीको असोज १० गते दिउँसो ३ः१५ मा बसेको सञ्चालक समितिको बैठकले काठमाडौं गौशालास्थित होटल क्रिष्टल पशुपतिमा सभा गर्ने निर्णय गरेको हो । सभा बिहान ११ बजे देखि शुरु हुनेछ । 

गत आर्थिक वर्ष (आव)को मुनाफाबाट यस वर्ष कम्पनीले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । सभाले गत आवको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गरी संकलन गरेको रकम मध्येबाट काबेली इनर्जी लिमिटेड कम्पनीले निर्माण गरिहेको काबेली ए जलविद्युत आयोजनाको शेयरमा लगानी गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी काबेली इनर्जी लिमिटेडले निर्माण गरिहेको काबेली ए जलविद्युत आयोजना ३ दशमलव ६० मेगावाटमा कर्जा लगानी गर्ने कुमारी बैंकलाई यस कम्पनीबाट प्रदान गरिएको संस्थागत जमानत अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज १८ गतेदेखि बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा असोज १६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस्