पोखरामा डेङ्गुले १३ वर्षीय बालकको ज्यान लियो, प्रदेशमा १० हजार सङ्क्रमित



कास्की,असोज १० । पोखरा महानगरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।  सङ्क्रमित बढेसँगै महानगरमा यसबाट पाँच जनाको मृत्यु भइसकेको छ।  पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा बिहीबार १३ वर्षीय बालकको मृत्यु भएको हो। 

तनहुँ र म्याग्दीका एक/एक जनाको यसबाट मृत्यु भइसकेको छ।  गण्डकी प्रदेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ।  स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काले उपचारका क्रममा डेङ्गु सङ्क्रमित स्याङ्जा घर भई पोखरा–१५, नयाँगाउँ बस्ने सुशान्त सारुको मृत्यु भएको जानकारी दिए । 

सरुका बुवा परिवारको सम्पर्कमा हुनुहुन्न भने आमा वैदेशिक रोजगारीमा छिन् । पोखरा महानगरमा यसअघि यस एक पुरुष र तीन महिलाको डेङ्गी सङ्क्रमणबाट ज्यान गइसकेको छ।  यसअघि वृद्धवस्थाका बिरामीको ज्यान गएकोमा प्रदेशमै पहिलो पटक बालकको डेङ्गुका कारण ज्यान गएको हो। 

प्रदेशमा सबैभन्दा बढी कास्कीमा चार हजार नौ सय २३ जना सङ्क्रमित रहेकोमा पोखरा महानगरका मात्रै चार हजार आठ सय १५ जना छन्।  पोखरापछि सबैभन्दा बढी सङ्क्रमित तनहुँको आबुँखैरेनी गाउँपालिकामा एक हजार तीन सय आठ जना छन्। गण्डकी प्रदेशमा नौ हजार सात सय १२ जना सङ्क्रमित पुगेका छन्।   मुस्ताङ तीन जना सङ्क्रमित हुँदा अहिलेसम्म मनाङमा भने डेङ्गु देखिएको छैन।  

प्रतिक्रिया दिनुहोस्