भारतमा जितिया पर्व मनाउँदा ४६ जनाको डुबेर मृत्यु



भारत,असोज १० । पूर्वी भारतमा हिन्दु पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ ।बिहार राज्यको विपद् व्यवस्थापन विभागका एक अधिकारीका अनुसार हालैको बाढीका कारण नदी र पोखरीमा धार्मिक स्नान गर्दा बिहार राज्यमा छुट्टाछुट्टै घटनामा उनीहरू डुबेका थिए । 

राज्यका १५ जिल्लामा मङ्गलबारदेखि डुबेर यी घटना भएका थिए । त्यहाँ भक्तजनहरूले आफ्ना बालबालिकाको कल्याणका लागि आमाहरूले मनाउने हिन्दु चाड जितिया पर्व मनाइरहेका थिए । अधिकारीहरूका अनुसार उनीहरूले अझै अन्य तीन शव निकाल्न प्रयास गरिरहेका छन् । 

जितिया पर्व केही दिनसम्म चल्छ र यो छिमेकी उत्तर प्रदेश र झारखण्ड राज्यका साथै नेपालको तराईका केही क्षेत्रमा पनि मनाइन्छ । बिहार राज्य सरकारले प्रत्येक पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको सरकारी अधिकारीहरूले बताएका छन् । सञ्चार माध्यमका अनुसार गत वर्ष पनि बिहारमा २४ घण्टाको अवधिमा २२ जनाको डुबेर मृत्यु भएको र तीमध्ये अधिकांशको यही पर्व मनाउँदा मृत्यु भएको थियो ।

भारतमा प्रमुख धार्मिक पर्वहरूमा पूजा स्थलहरूमा घातक घटना हुनु सामान्य हो । अधिकांश ठुला चाडपर्वमा लाखौँ भक्तजन तीर्थयात्रामा निस्कन्छन् । गत जुलाईमा प्रदेशमा भिडभाड भएको एउटा हिन्दु समारोहमा कम्तीमा एक सय १६ जनाको कुल्चिएर मृत्यु भएको थियो । यो एक दशकभन्दा बढी समयमा सबैभन्दा ठुलो दुर्घटना थियो । 

भारतमा जुनदेखि सेप्टेम्बरसम्मको मनसुनी मौसममा प्रत्येक वर्ष मुसलधारे वर्षा र बाढी आउँछ । मनसुन कृषिका लागि र लाखौँ किसानको जीविकोपार्जनका लागि महत्त्वपूर्ण छ । 

तथापि मनसुनी वर्षाले प्रत्येक वर्ष पहिरो र बाढीका रूपमा व्यापक विनाश निम्त्याउँछ । यसले दक्षिण एसियाभर सयौँ मानिसको ज्यान लिने गरेको छ ।

गत जुलाईमा दक्षिण भारतको केरला राज्यमा मुसलधारे मनसुनी वर्षाले पहिरो जाँदा चिया बगानहरू चट्टान र माटोले पुरिँदा दुई सयभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनले विश्वभर चरम मौसमी घटनाहरू बढेका छन् र भारतमा बाँध निर्माण, वन फँडानी र विकास परियोजनाहरूले मानवीय क्षतिलाई बढाइरहेका छन् ।

बिसौँ शताब्दीको मध्यदेखि मनसुनको परिवर्तनबारे पोस्टड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्चले सन् २०२१ मा गरेको अध्ययनले चरम मौसमी घटनाहरू बलियो र अनियमित हुँदै गएको बताएको छ । रासस,एएफपी

प्रतिक्रिया दिनुहोस्