चार पाङ्ग्रे विद्युतीय सवारी साधनको आयात एक महिनामा  तीन गुणाले बढ्यो



काठमाडौ,असोज १० । चालू आर्थिक वर्षको पहिलो महिनाको तुलनामा चालु आर्थिक वर्षको दोस्रो महिनामा विद्युतीय कार, जिप र भ्यानको आयात तीन गुणाले बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गत साउनदेखि भदौमसान्तसम्म रु दुई अर्ब ९३ करोड मूल्य बराबरको एक हजार २२१ थान सवारी साधन आयात भएको छ । यो तथ्यांक चालु आवको साउनमा रु ८९ करोड ७० लाख २० हजार मूल्य बराबरको ३८१ थान मात्रै सवारी साधन आयात भएको थियो ।

दुई महिनामा ५१ देखि १०० किलोवाटसम्मका विद्युतीय सवारी साधन आयात भएको तथ्याङ्कले देखाएको छ । सो रेन्जमा रहेका ९३८ वटा विद्युतीय सवारीसाधनमध्ये ६६२ वटा चीनबाट र बाँकी भारतबाट आयात भएका छन् ।

पहिलो दुई महिनामा आयात भएका एक हजार १२५ थान अर्थात् करिब ७० प्रतिशत सवारी साधन चीनबाट आयात गरिएकाले नेपालको विद्युतीय बजारमा चीनको वर्चस्व कायमै देखिएको  छ । ४७५ युनिट अर्थात् २९.६५ प्रतिशत सवारी मात्रै भारतबाट आयात भएमा थिए भने बाँकी दुई युनिट अमेरिका र जर्मनीका भित्र्याइएका थिए ।

चालू आर्थिक वर्षको पहिलो दुई महिनामा चारपाङ्ग्रे सवारी साधनको आयातबाट सरकारले रु दुई अर्ब ३१ करोड राजश्व सङ्कलन गरेको छ । गत आवमा नेपालले रु २९ अर्ब ४८ करोड बराबरको ११ हजार ७०१ थान विद्युतीय कार, जिप र भ्यान आयात गरी रु १३ अर्ब २८ करोड राजश्व सङ्कलन गरेको थियो । जसमध्ये पहिलो दुई महिनामा रु दुई अर्ब ४३ करोड बराबरको ८९८ युनिट आयात भएको थियो ।

१ हजार ६६८ तीनपाङ्ग्रे विद्युतीय सवारी साधन भित्रिए

पछिल्लो दुई महिनामा १३ करोड ४० लाख मुल्य वरावरको जम्मा १ हजार ६६८ तीनपाङ्ग्रे सवारी साधान नेपाल आयात भएको छ । जसमा चीनबाट १ हजा ३१६ थान र भारतबाट ३५२ थान आयात भएको छ । गत वर्षको सोहि अवधिमा ६ करोड ५ लाख मूल्यको ६४६ थान तीनपाङ्ग्रे सवारी साधान नेपाल आयात भएको छ । जसमा चिनबाट ५२४ भारतबाट १२२ थान आयात भएको छ ।

गत  भदौ १५ देखि २८ गतेसम्म काठमाडौँमा सम्पन्न देशकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी नाडा अटो शो २०२४ मा विद्युतीय सवारीसाधनले चर्चा कमाएका थिए । प्रदर्शनीमा ८० प्रतिशत सवारी साधन विद्युतीय भए पनि बुकिङमा ७० प्रतिशत बुकिङ भएको  आयोजकले जनाएको थियो  । छ दिनसम्म चलेको प्रदर्शनीमा तीन हजारभन्दा बढी सवारी साधन बुकिङ भएका थिए ।

भारतीय कम्पनी टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले प्रदर्शनीपछि एनबीएलाई दिएको जानकारीअनुसार ६ दिनमा टाटाका ६४४ थान (टाटा पन्च इभीको ४७५ थान र टियागो इभीको १६९ युनिट) बुकिङ भएको थियो ।

त्यस्तै नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता सिमेक्स इंकले बीवाईडी एटिटिओ ३ लगायत अन्य कारहरु प्रदर्शनीमा राखेको थियो । बैंक तथा वित्तीय संस्थाले नाडा अटो शो २०२४ तथा दशैं र तिहारलाई लक्षित गरी सवारी साधन (अटो) कर्जालाई पनि प्राथमिकतामा राखेका थिए । कर्जा विस्तारका लागि पर्याप्त तरलता को उपलब्धता सँगै बैंकहरुले कम ब्याजदर र विभिन्न इन्सेन्टिभका साथ अटो लोन स्किमहरु घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्