नेपाली व्यवसाय उकास्न एआईले महत्वपूर्ण भूमिका खेल्न सक्छ : सरोकारवाला
काठमाडौं,असोज १०। सूचना प्रविधिको युग सुहाउँदो गरि नेपालको व्यवसायलाई थप बढाउन आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) ले महत्वपूर्ण भूमिका खेल्ने सरोकारवालाहरूले बताएका छन् । काठमाडौंमा सनवे कलेज र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रुपमा आयोजना गरेको ‘एआई र डाटा साइन्स: एआई र डाटा विज्ञान: डिजिटल युगमा सशक्त बनाउँदै नेपाली व्यवसाय’ कार्यक्रममा बोल्दै सरोकारवालाले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले एआई नै अबको बिजनेस बढाउने साधन हुने बताए । ‘यो डिजिटल दुनियाँमा अब एआईको जसले भरमग्दुर सदुपयोग गर्नसक्छ, उसैको बिजनेसले फड्को मार्छ । त्यसकारण एआई प्रविधिलाई सदुपयोग गर्नुस् र फाइदा उठाउनुस्,’ उनले भने ।
नेपाल चेम्बर अफ कमर्स, आइटी कमिटीका अध्यक्ष विज्ञानराज शर्माले नेपालका शैक्षिक क्षेत्रहरू एआईका रिसर्च र विकास गर्नका लागि ठूलो अवसर बन्न सक्ने बताए । ‘एआईको रिसर्च र अनुसन्धान गर्नका लागि नेपाली शैक्षिक क्षेत्रलाई ठूलो अवसरको रुपमा आउनेछ । यसले प्रविधि र उत्पादन लाई एकसाथ अगाडि बढ्न थप मद्दत गर्नेछ । साथै व्यापार र लगानी दुवै सुरक्षित बनाउन सहयोग हुनेछ,’ उनले भने ।
अबको नेपाली अर्थतन्त्रलाई उकास्ने गरी उद्योग र विश्वविद्यालयको खाडल एआईले पूरा गरिदिने क्यान महासंघका महासचिव एव साइबर सेक्युरिटी विज्ञ चिरञ्जीवी अधिकारीको भनाइ छ । ‘भविष्यमा नेपाली अर्थतन्त्रलाई उकास्न र उद्योगहरूलाई चलायमान बनाउन एआईको भूमिका महत्वपूर्ण हुनेछ जसमा विश्वविद्यालय क्षेत्र पनि संलग्नता हुनेछ । यसले उद्योग र शिक्षालाई आपसमा सँगसँगै लैजान पनि अहम् भूमिका एआईले गरिदिनेछ,’ उनले भने ।
यसले बजार, व्यापार र शिक्षाको लागि उर्वर र ऊर्जावान् बनाउने एआई एउटा महत्वपूर्ण कडीको रुपमा स्थापित हुने अधिकारीको भनाइ छ ।
यस्तै वाइज याकका सहसंस्थापक डा. हेमन्त श्रेष्ठले एआईलाई स्थानीय उद्योगमा कसरी लागू गर्न सकिन्छ भनेर आफ्ना अनुभवहरू सुनाएका थिए । यस्तै सामाजिक सुरक्षा कोषका निर्देशक डा. रोशन कोजुले डेटा साइन्सले सरकारलाई दिने दीर्घकालीन सेवा र फाइदाका बारेमा अनुभवहरू साटेका थिए ।
काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक डा. मनोज शाक्यले शैक्षिक क्षेत्र अब एआईका कारण खोज र अनुसन्धानमा लागेर उद्योगलाई सघाउन सक्ने अवसरको रुपमा परिवर्तन हुन सक्ने बताए । खल्तीका सीईओ विनय खड्काले भने एआईले नेपाली बिजनेशलाई सजिलैसँग माथि उठाउन मद्दत गर्ने दाबी गरे । उनले यसको लागि खल्ती प्लेटफर्म नै अहिलेको महत्वपूर्ण पेमेण्डको रुपमा स्थापित भइरहेको पनि बताए ।
सन् २०१० मा स्थापना भएको सनवे कलेजले ४ वर्षे एआई र डेटा साइन्सको कोर्ष बेलायतको बर्मिङगन युनिभर्सिटीको सहकार्यमा अध्यापन गराउँदै आएको छ । जसमा एक वर्ष पेशागत सुरक्षा र उद्योग र शैक्षिक क्षेत्रको खाडललाई पुर्ने लक्ष्य रहेको छ ।