एडीबीले गर्यो नेपालको अर्थतन्त्रबारे यस्तो प्रक्षेपण
काठमाडौं,असोज १०। एशियाली विकास बैंक (एडीबी)ले चालू आर्थिक वर्ष ०८१/८२ मा नेपालको अर्थतन्त्र ४ दशमलव ९ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा एडीबीले पछिल्लो प्रमुख आर्थिक प्रकाशन एशियन डेभलपमेन्ट आउटलुकमाथि छलफल गर्दै चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रमा सुधार आउने प्रक्षेपण गरेको हो । गत आर्थिक वर्ष ०८०/८१ मा प्रक्षेपण भने ३ दशमलव ९ प्रतिशतभन्दा माथि रहेको एशियन डेभलपमेन्ट आउटलुकले जनाएको छ ।
नेपालका लागि एडीबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले आन्तरिक मागमा वृद्धि, पूर्वाधार खर्चमा तीव्रता र पर्यटन सम्बन्धी सेवाहरूको पुनरुत्थानले कुल गार्हस्थ उत्पादन (जीडीपी) बढ्ने सम्भावना रहेको औंल्याए ।
एशियन डेभलपमेन्ट आउटलुक (२०२४) अनुसार सामान्य मनसुनसँगै समयमै धान रोपाइँ सम्पन्न भएकाले कृषि क्षेत्रको वृद्धि फसल संकलनको अनुकूलतामा निर्भर रहने भनाई कोश्वाको छ ।
देशको विद्युत् उत्पादन क्षमता वृद्धिले औद्योगिक वृद्धिलाई टेवा दिने विश्वास व्यक्त गर्दै कोश्वाले पर्यटकको आगमनमा वृद्धिले आवास र भोजन सेवाहरू लगायतका गतिविधि बढ्नमा सहयोग पुग्ने र सेवा क्षेत्र विस्तार हुने अपेक्षा गरे ।
लचक मौद्रिक नीति, पूँजीगत बजेटको खर्चलाई तीव्रता दिने योजनाले आन्तरिक मागमा थप सुधार हुने र थोक एवम् खुद्रा व्यापार, यातायात र भण्डारण तथा घरजग्गा जस्ता व्यावसायिक गतिविधि सुदृढ हुने प्रक्षेपणसमेत एडीबीको छ ।
चालू आर्थिक वर्षमा मुद्रास्फीति ५ प्रतिशतभित्रै सीमित गर्ने नेपाल राष्ट्र बैंकले निर्धारण गरेको लक्ष्यसमेत हासिल हुने एडीबीको विश्वास छ ।
सरल फसल संकलन तथा नेपालको आयातको मुख्य स्रोत भारमा मुद्रास्फीतिमा सामान्य गिरावट आएसँगै मुद्रास्फीति केन्द्रीय बैंकले निर्धारण गरेको सीमामै रहने प्रक्षेपण एडीबीले गरेको हो ।
‘बाह्य जोखिमहरू भने सापेक्षरूपमा नियन्त्रणमा रहनेछन्,’ एडीबीले भनेको छ, ‘व्यापार घाटामा गिरावट, उत्साहवद्र्धक विप्रेषण आप्रवाह र पर्यटक आगमनमा वृद्धिले गत आर्थिक वर्ष ०८०/८१ मा नै बाह्य क्षेत्रमा सुदृढ देखिएको छ ।’
चालू आर्थिक वर्षमा चालू खाता घाटा कुल गार्हस्थ्य उत्पादनको एक प्रतिशतसम्म पुग्नसक्ने अनुमानसमेत एडीबीले गरेको छ । गत आर्थिक वर्षमा अर्थतन्त्र पुनरुत्थान तथा विप्रेषण आप्रवाहमा मध्यम सुधारसँगै ३ दशमलव ९ प्रतिशत बचतमा रहेको तथ्याङ्क एडीबीले प्रस्तुत गरेको छ ।
मध्यपूर्वमा कुनै पनि भूराजनीतिक तनाव गहिरिएको खण्डमा नेपालको विप्रेषण आयमा असर पर्नुका साथै इन्धन र खाद्यान्नको मूल्यमा वृद्धि हुन सक्ने अनुमानसमेत एडीबीले गरेको छ ।
विश्वव्यापी आर्थिक मन्दीले पर्यटन आयलाई समेत असर पार्न सक्ने एडीबीको भनाइ छ । यस्तै, प्राकृतिक विपद् तथा जलवायु प्रकोपहरू नेपालको आर्थिक वृद्धिमा स्थायी जोखिम रहेको एडीबीले औंल्याएको छ ।
सन् १९६६ मा स्थापना भएको एडीबीमा ६८ सदस्यहरूको स्वामित्व छ । तीमध्ये ४९ एशिया तथा प्रशान्त क्षेत्रमा छन् ।