तार्केश्वर नगरमा आर्ट अफ लिभिङको ‘ह्याप्पीनेश प्रोग्राम’ सम्पन्न
काठमाडौं,असोज १०। आर्ट अफ लिभिङले काठमाडौंको तारकेश्वर नगरपालिकास्थित गोलढुंगामा ‘ह्याप्पीनेश प्रोग्राम’ सम्पन्न गरेको छ ।
गत आइतवारदेखि बुधवारसम्म चलेको उक्त कार्यक्रममा सीमान्तकृत समुदायका २२ जना महिला सहभागी भएका थिए ।
कार्यक्रममा सहभागीहरूलाई तनाव व्यवस्थापनसँगै व्यावहारिक जीवन व्यवस्थापनको शीप सिकाइएको थियो । उनीहरूलाई स्ट्रेचिङ र योगाभ्याससँगै लयबद्ध श्वासप्रश्वास विधि पनि सिकाइएको थियो । उनीहरूले सुदर्शन क्रियाको अभ्यास गरेका थिए ।
आर्ट अफ लिभिङले मानिसलाई तनावबाट मुक्ति दिन र उनीहरूको भावनात्मकरूपमा कल्याण गर्न विश्वका १८६ भन्दा बढी देशहरूमा काम गरिरहेको छ ।
‘व्यक्तिमा यो सकारात्मक परिवर्तन एकताबद्ध र सुखी समुदाय निर्माण गर्ने एक महत्त्वपूर्ण कदम हो,’ अच्युतराज गौतम र सहायक शैलेन्द्र श्रेष्ठसँगै कार्यक्रमको नेतृत्व गरिरहेका वरिष्ठ प्रशिक्षक निभा एम प्रधानले भने ।
येल विश्वविद्यालयका वैज्ञानिक तथा प्राध्यापक एम्मा सेप्पालाको पहलबाट यो कार्यक्रम आयोजना गरिएको हो । उनको माध्यमबाट प्रधानलाई स्थानीय नसरीन र मजाहरसँग परिचित गराइएपछि यो कार्यक्रम आयोजना भएको हो ।
आर्ट अफ लिभिङले शान्ति, सद्भाव र जीवनका सबै क्षेत्रका व्यक्ति र संस्थाहरूमा अपनत्वको भावना विकास गर्न विश्वव्यापी रूपमा कार्यक्रम गर्दै आएको छ ।