‘सहकारीको समस्या समाधानमा सरकार नै बाधक’
वीरगञ्ज,असोज १०। सहकारी संस्थाहरूमा डुबेको सर्वसाधारणको बचत फिर्ता गराई समस्या समाधान गर्न सरकार नै बाधक रहेको आरोप लगाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्साले बुधवार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई पठाएको ज्ञापनपत्रमा उक्त आरोप लगाएको हो ।
सहकारीको अर्बौं रुपैयाँ हिनामिना हुँदा पनि सरकार भने आफ्नो दलका शीर्ष नेतालाई फसाउनमात्रै उद्यत् देखिएको ज्ञापनपत्रमा उल्लेख छ ।
उक्त ज्ञापनमा सो पार्टीका सभापति रवि लामिछानेप्रति राजनीतिक प्रतिशोध साँध्न सरकारले अनेक जालझेल गरेको दाबी गरिएको छ । ‘असली सहकारी ठगहरूलाई उन्मुक्ति दिएर सहकारी समस्याको समाधानमा सरकार आफै बाधकको रुपमा उभिएको छ,’ पन्तले भनेका छन् ।
सो दलका पर्सा जिल्ला संयोजक हरि पन्तको अगुवाइमा सहकारीका समस्या समाधानका लागि दबाब दिन मौन जुलुस र कोणसभा गरिएको थियो ।