सडकको दुरावस्थाले सधैँ पिरोल्छ यात्रुलाई, दसैंमा के छ मर्मतसम्भारको तयारी ?



काठमाडौं,असोज ९ । दशैँ नजिकिएसँगै कर्मथलो छाड्नेलाई केही कुराले पिरोल्छ भने त्यो हो, सडकको दुरावस्था । दशैँ, तिहार र छठका लागि आफ्नो कर्मथलो छाडेर जन्मथलो फर्किनेको संख्या ठूलो हुन्छ । पढाइ र कामका लागि घरबाट बाहिर रहेकाहरूलाई एकै ठाउँमा जम्मा पार्ने काम दशैँले गर्छ । त्यसैले त दशैँ नेपालीका लागि विशेष चाड बनेको छ ।

एउटा चर्चित गीतको अन्तरा छ नि –
भदौरे झरी छुटेर जाँदा असोजमा नौलो रङ्ग छाउँछ
ठूलाको हात, सानाको माथा, आशिष् दिँदै दशैँ आउँछ !

चलचित्र ’मुग्लान’ मा समावेश रहेको गीतको यो अन्तराले बर्खा सकिएपछि आउने नयाँ बहार इंगित गर्छ । ’दशैँ आयो’ बोलको यो गीत बज्न थालेपछि दशैँ आएको महसुस हुन्छ । गीतले भनेजस्तै असोजमा नौलो रङ्ग पनि छाउँछ । दशैँ पनि आउँछ । तर बर्खाले बिग्रिएको बाटोले भने दशैँ मनाउन घर फर्किनेहरूलाई लागि सास्ती दिन्छ । बाढी र पहिरोका कारण अस्तव्यस्त सडकले गर्दा दशैँ मनाउन घर फर्कनेहरूले वर्षेनी सास्ती व्यहोर्नु परेका उदाहरण प्रशस्त छन् । सडकको दुरावस्था र खचाखच यात्रु कोच्ने प्रवृत्तिले दशैँ, तिहार र छठ लगायत पर्वमा ठूलो दुर्घटना र क्षति हुने गरेको छ ।

यस वर्षको मनसुन अझै बाहिरि सकेको छैन । सामान्यतया अक्टोबर २ मा मनसुन बाहिरिने गरेको छ । त्यो हुँदा पनि यस वर्षको दशैँ हिलाम्मे हुने अनुमान गरिएको छ । पूर्वपश्चिम राजमार्गका विभिन्न सडकखण्डदेखि बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग, त्रिभुवन राजपथ, हुलाकी राजमार्ग, मदन भण्डारी लोकमार्गलगायत सडकखण्डमा निकै ठूलो पहिरो खसेको छ । सडकमा जताततै खाल्डाखुल्डी र भ्वाङ देखिन्छन् । ग्रामिण सडकको त झन् कुरा गरि साध्यै छैन । त्यसो हुँदा पनि आम सर्वसाधारण सडकको अवस्थालाई लिएर चिन्तित देखिन्छन् ।

के छ तयारी ?

सडकको हरिबिजोक अवस्था हुँदा पनि राज्य पक्षले भने यसलाई त्यति गम्भीर रूपले लिएको देखिँदैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय आफू मातहतका विभागलाई निर्देशन दिएर पन्छिने बाहेक सडकको अनुगमनमा खटिने गरेको छैन । सडक निर्माण, मर्मत सम्भार र विस्तारका सन्दर्भमा देशले भोग्नुपरेका चुनौतीहरूको खासै अध्ययन गरिएको देखिँदैन। कमजोर र अपर्याप्त पूर्वाधारका कारण वर्षेनी यात्रुले अकालमै ज्यान गुमाउनु परेको छ ।

दशैँ, तिहार र छठ पर्वमा यात्रुको चाप बढी रहन्छ । विभिन्न शहरबाट लाखौँ मान्छे बाहिरिने गरेका छन् । त्यसैले सामान्य अवस्थाको तुलनामा यो समयमा जोखिम कायम रहन्छ । कतिपय सडक बाढी र पहिरोले भत्किएका छन् । कतिपय सडक स्तरोन्नतिको क्रममा रहेको र समयमै काम नहुँदा अस्तव्यस्त र बेहाल छन् । कतै सडकको पुल बगाएको छ, त कतै खाल्डाखुल्डी । यद्यपि सडक विभागले भने राजमार्गका सडकमा परेका खाल्डाखुल्डी पुर्ने र पहिरो हटाउने काम सुरू भएको बताएको छ । दशैँ मान्नका लागि घर जाने बेलासम्ममा यात्रुलाई ठूलो सास्ती नहुने गरी सडक मर्मतको काम गरिसक्ने सडक विभागको दाबी छ ।

विभागका सूचना अधिकारी अमित कुमार शर्माका अनुसार अहिले देशभरका बिग्रिएका सडक मर्मत सम्भारको प्राथमिकताका साथ काम भइरहेको छ । ‘सडक विभाग मातहतमा हामीले हेरिरहेका छौं । मर्मत सम्भार विशेष प्राथमिकता हो हाम्रो । हाम्रा ३३ वटा डिभिजनहरूले साउनभित्रै बोलपत्र आह्वान गरिसकेका छन् । पहिलो चरणमा मर्मत सम्भारको काम तिब्र रूपले भइरहेको छ’, उनले भने ।

तर, वर्षाका कारण सडक मर्मतमा समस्या देखिएको छ । आज खाल्डो पुर्यो राती पानीले बगाउने समस्या छ । तत्काल कतै पहिरो गइहालेमा मेसिन, जनशक्ति लगायतका संयन्त्र तयारी अवस्थामा राखिएको उनले बताए । ‘यातायात सुचारू गर्नका लागि बर्खायाममा बाटो अवरुद्ध नहोस् भन्नका लागि २६४ वटा इक्वीपमेन्ट परिचालन गरेका छौं’, उनले भने । उनका अनुसार तत्काल मर्मतसम्भारका लागि भनेर १३ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

मुलुकभर ६ सय १८ वटा ग्रामीण सडक तथा राजमार्ग छन् । त्यसमध्ये बाढी, पहिरो तथा अन्य विविध कारणले कतिपय सडकको अवस्था नाजुक छ। सञ्चालनमा रहेका सडक तथा राजमार्गमा पनि कतिपय एकतर्फी मात्र सुचारु छन् । विभागका अनुसार खाल्डाखुल्डी पुर्नका लागि १११ वटा ठेक्कापट्टा लगाइएको छ । त्यसमा ४ वटा ठेक्काको काम सम्पन्न पनि भइसक्यो ।

सडक बोर्डले सडक मर्मत सम्भारका लागि ५ अर्बभन्दा बढी बजेट छुट्याएको छ । त्यसमध्ये १ अर्ब रुपैयाँ दशैँ अघि खर्च हुने अनुमान विभागको छ । विभागले ६ हजार किलोमिटर सडकलाई खाल्डाखुल्डीरहित बनाउने योजना बनाएको छ । दशैँ अगाडि ४ हजार किलोमिटर सडक खाल्डाखुल्डी पुर्ने गरी काम भइरहेको शर्माले बताए ।

स्तरोन्नति भइरहेका मुख्य सडकहरू अपग्रेडिङको चरणमा रहेको उनले बताए । त्यसमा सहज वातावरण बनाउने गरी काम भइरहेको उनको भनाइ छ । हालसम्म ८०० किलोमिटर सडकको मर्मत सम्भार भइसकेको शर्माले जानकारी दिए । कतिपय सडक प्रदेश र स्थानीय तहको क्षेत्राधिकार भित्र पर्ने भएकोले त्यहाँबाट पनि काम भइरहेको उनले बताए ।

दुर्घटना न्यूनीकरणमा छैन ठोस योजना

दशैँमा बढ्ने सक्ने दुर्घटनालाई लिएर सरकारले कुनै उपाय पहिल्याउन सकेको छैन । न त दशैँमा बढ्ने दुर्घटना न्यूनीकरणका लागि कुनै ठोस योजना नै बनेको छ ।

यता, चाडपर्वको मौकामा यातायात व्यवसायीले खुलेयाम थोत्रा, पुराना गाडीमा खचाखच यात्रु बोक्छन् । मनोमानी भाडा उठाउँछन् । गाडीले थेग्न नसक्ने यात्रु बोक्दा समेत कारबाही गर्ने कुनै संयन्त्र छैन । एकातिर खराब सडक अर्कोतिर पुराना गाडीमा खचाखच यात्रु । त्यसमा पनि उपत्यकामा मात्र गाडी हाँकीरहेका चालक । यसले पनि दशैँमा दुर्घटना बढाउने गरेको छ ।

अग्रिम टिकेट बुकिङमा पनि उस्तै समस्या छ । कमजोर व्यवस्थापनका कारण दोहोरो टिकटको समस्याले यात्रुले अर्को झन्झट व्यहोर्नु परिरहेको छ ।

चाडपर्वको समयमा बढी यात्रु राख्न नपाइने, थोत्रा गाडीलाई निषेध, बाटो अवस्था हेरेर मात्र ठूला गाडीलाई गुड्न दिने, तिब्र गतिमा सवारी चलाउनेलाई कारबाही गर्ने र चल्ने सवारीसाधनको प्राविधिक चेकजाँच गर्नुपर्ने पनि जानकारहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्