नेपालमा सुँगुर र कुखुराको मासु निर्यात गर्न अमेरिका इच्छुक, कुनै अवरोध नभएको नेपाल सरकारबाट जानकारी



काठमाडौं,असोज ९ । नेपालले अमेरिकालाई सुँगुर र कुखुराको मासु अमेरिकाबाट नेपालमा निर्यात गर्न कुनै वाधा नरहेको स्पष्ट पारेको छ । सरकारी अधिकारीहरूका अनुसार अमेरिकाले लामो समयदेखि नेपालमा यी वस्तु निकासी गर्न चाहेर यहाँको नीति नियमबारे चासो राख्दै आएको थियो । 

भदौ अन्तिममा काठमाडौंमा सम्पन्न ट्रेड एन्ड इन्भेस्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट (टिफा) काउन्सिलको ७ औं बैठकमा पनि अमेरिकी अधिकारीले नेपालमा यी वस्तु निर्यातका लागि कुनै वाधा अवरोध भए/नभएको सोधेका थिए । 

बैठकपछि जारी संयुक्त विज्ञप्तिअनुसार नेपालले यी वस्तु नेपालमा निर्यात गर्न कुनै अवरोध नरहेको स्पष्ट पारेपछि अमेरिकाले स्वागत गरेको छ । आगामी महीनाहरूमा नेपालले अमेरिकाको खाद्य सुरक्षा तथा निरीक्षण सेवा प्रमाणपत्र (एफएसआईएस फारम–९०६०–५) स्वीकार गर्ने जानकारीसहित अमेरिकालाई पत्राचार गर्नेछ । यस हिसाबले त्यसपछि अमेरिकाले अब सीधै नेपालमा कुखुरा र सुँगुरको मासु निर्यात गर्न सक्नेछ ।

केही वर्षदेखि नेपालमा सुँगुर र कुखुराको मासु निर्यात गर्न असहज भएको गुनासो गर्दै आएको अमेरिकाले उक्त बैठकमार्फत यस विषयमा पुन: चासो देखाएपछि नेपालले अमेरिकी सुँगुर र कुखुराको मासु आयातमा प्रतिबन्ध नरहेको स्पष्ट पारेको वार्तामा सहभागी सरकारी अधिकारीले बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय स्रोतका अनुसार अमेरिकाले सन् २०१८ देखि नै टिफा बैठकमा पटकपटक यो विषय उठाउने गरेको थियो । नेपालले भने कानूनी बन्देज नरहेको भन्दै त्यति धेरै महत्त्वका साथ लिएको थिएन । ‘यसपटक पनि अमेरिकाले यस विषयमा बैठकमै चासो व्यक्त गरेको थियो । बैठकमा सहभागी अमेरिकी सरकारका प्रतिनिधिहरूले आफ्नो देशबाट मासु निर्यात गर्न चाहेकाले नेपालमा निर्यात गर्न कुनै बाधा छ कि छैन भनेर सोधेका थिए । सोही विषयमा हामीले मासु आयातको प्रावधानबारे औपचारिक जानकारी गराउने सहमति भएको छ,’ मन्त्रालय स्रोतले आर्थिक अभियानसँग भन्यो ।

यसअघि नेपालले अमेरिकाबाट प्यारेन्ट चल्ला उत्पादनका लागि आवश्यक पर्ने ग्रान्ड प्यारेन्ट आयात गर्ने गरेको थियो । पछिल्लो समय नेपालमै ग्रान्ड प्यारेन्ट कुखुरा उत्पादन गर्ने कम्पनी स्थापना भएपछि नेपालले आन्तरिक उत्पादनले काम चलाउन थालेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका तर्फबाट टिफा बैठकमा सहभागी भएका मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले पनि अमेरिकी प्रतिनिधिहरूले बैठकमा यस विषयमा कुरा उठाएको र नेपालले कुनै प्रतिबन्ध नलगाएको जानकारी दिएको स्पष्ट पारे । ‘नेपाली व्यवसायीले अमेरिकाबाट यी वस्तु आयात गर्न चाहेमा बाधा नरहेको स्पष्ट पार्‍यौं,’ उनले भने । 

कृषि मन्त्रालयका सहसचिव सम्झनाकुमारी काफ्लेले यी मासु निर्यात गर्न अमेरिकी चासो रहेको तर त्यसको अर्थ आजको भोलि नै नेपालमा मासु निर्यात गर्न सक्ने र नेपालले आयात गरिहाल्छ भन्ने नभएको बताइन् । ‘पशुपन्छी तथा ताजा मासु आयात निर्यातसम्बन्धी हाम्रो प्रावधान र क्वारेन्टाइनका सबै प्रक्रिया मिल्ने देखिए मात्रै अमेरिकाले नेपालमा मासु निर्यात गर्न पाउँछ,’ उनले भनिन् । 

भन्सार विभागको तथ्यांकअनुसार नेपालले गत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न मुलुकबाट १३ करोड ६३ लाख रुपैयाँभन्दा बढीको मासु तथा मासुजन्य पदार्थ आयात गरेको छ ।

२०७७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल मासु र अण्डामा आत्मनिर्भर भएको घोषणा गर्दै मुलुकलाई रेमिट्यान्सबाट चलाउनेभन्दा स्वदेशी उत्पादन विदेश निर्यात गर्ने र मुलुकमै रोजगारी वृद्धि गर्ने बताउनुभएको थियो । प्रधानमन्त्रीले आत्मनिर्भर घोषणा गरेको पोल्ट्री क्षेत्र नै यतिबेला धराशयी हुने जोखिम बढेको भन्दै व्यवसायीले चिन्ता व्यक्त गर्दै आएका छन् ।

कतिपय नेपाली पोल्ट्री व्यवसायी भने अमेरिकी कुखुराको मासु सजिलै छिर्दा यहाँको पोल्ट्री व्यवसायमा असर पर्छ कि भनेर चिन्तित छन् । नेपाल अण्डा उत्पादक संघका महासचिव प्रवीण केसीले अहिले नेपाली किसानले आफ्नो उत्पादनको मूल्य नपाएर पलायन भइरहेको अवस्थामा अमेरिकाबाट कुखुराको मासु आयात हुँदा स्वदेशी कुखुरापालक पलायन हुने स्थिति आउने हो कि भन्दै चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्