२१ औं शताब्दीका सबैखाले चुनौतीको सामना गर्न तयार हुनुपर्छ: रिजर्भ बैक अफ ईण्डियाका गभर्नर
काठमाडौं,असोज ९ । भारतका गभर्नर शक्तिकान्त दासले २१ औं शताब्दीका केन्द्रीय बैंकहरू सबैखाले चुनौतीहरूको सामना गर्न तयार हुनुपर्ने बताएका छन् ।
नेपालका प्रथम गभर्नर हिमालय शमशेर जबराको पहिलो स्मृति दिवसको अवसरमा नेपाल राष्ट्र बैंकले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले फिनटेक इनोभेसन, व्यापारमा मन्दी, वित्तीय सेवामा आर्टिफिसियल इन्टेलिजेन्स र मेशिन लर्निङ (एआई/एमएल) उपकरणको बढ्दो प्रयोग लगायत कारणले बैंकिङ क्षेत्रमा नयाँनयाँ चुनौती थपिँदै गएकाले विश्वभरका केन्द्रीय बैंकहरू यस्ता चुनौतीहरू सामना गर्न तयार हुनुपर्ने बताएका हुन् ।
‘फिनटेक इनोभेसनहरूले पनि नयाँ सम्भावनाहरू खोलिरहेका छन् । यस यात्रामा केन्द्रीय बैंकहरूको लागि चुनौती थपिएको छ । डिजिटल इनोभेसनलाई अधिक कुशल, विवेकपूर्ण र स्थिर वित्तीय प्रणालीतर्फ लैजानु पर्ने छ । २१ औं शताब्दीका केन्द्रीय बैंकहरू यी सबैखाले चुनौतीहरूको सामना गर्न तयार हुनुपर्छ,’ उनले भने ।
‘वित्तीय सेवामा आर्टिफिसियल इन्टेलिजेन्स र मेशिन लर्निङ (एआई/एमएल) उपकरणको आगमनसँग सम्बन्धित छ । केन्द्रीय बैंकिङ र वित्तीय सेवाहरूमा यसको अनुप्रयोग र प्रयोगको ठूलो दायरा भए तापनि यसले तथ्यांकको गोपनीयता, साइबर सुरक्षा र नैतिक मुद्दाहरूको चुनौतीहरू पनि खडा गर्दछ,’ उनले भने, ‘केन्द्रीय बैंक र वित्तीय सेवा इकोसिस्टममा सरोकार राख्नेहरूले यी चुनौतीहरूको सामना गर्न आफ्नो क्षमता बढाउनुपर्छ।’
उनले जलवायु परिवर्तन र भूराजनीतिका कारण उत्पन्न मुद्रास्फीतिको दबाब, नवीनता र कृत्रिम बुद्धिमत्ताको पर्यवेक्षण र उचित तरिकाले व्यवस्थापन गरिए उत्पादकत्व बढाउन र लागत घटाउन मद्दत गर्ने बताए । यसको प्रभाव व्यवस्थापन गर्न सके केन्द्रीय बैंकहरूको आफ्नै क्षमतामा निर्भर रहने उनको भनाइ छ ।
हरेक संकटले नयाँ पाठ सिकाउने भन्दै अर्थशास्त्रमा ज्ञान र विचारको सीमा हरेक संकटसँगसँगै अगाडि बढेको उनले बताए ।