पर्यटकीय नगरी धनकुटाको हिलेमा पर्यटनको सिजन सुरु



धनकुटा,असोज ८ । बर्खा सकिएसँगै पूर्वको पर्यटकीय नगरी धनकुटाको हिलेमा पर्यटनको सिजन सुरु भएको छ । मनोरम हिमाल पहाड, डाँडाकाँडा हेर्न तथा तराईको गर्मी छल्न धेरै पर्यटकको रोजाइमा हिले पर्ने गर्छ । 

हिले आफैंमा पनि डाँडामा रहेको एक पहाडी क्षेत्रको सुन्दर बजार हो ।  हिले बास बस्ने पर्यटक बिहानको मनोरम दृश्य अवलोकनको लागि यो क्षेत्रमा पुग्ने गरेको हिलेका होटल व्यवसायी राम रायमाझी बताउँछन् । 

हिलेस्थित बक्रकुण्ड भ्यु प्वाइन्टबाट यो समयमा महाभारत पर्वत शृङ्खला, सप्तकोशी नदी उत्तरतर्फका सगरमाथा, मकालु, गौरीशङ्कर, चोयु लगायतका हिमालसहित विभिन्न पहाडको मनमोहक दृश्य देखिन्छ । 

त्यस्तै सङ्खुवासभा, भोजपुर जिल्लाका विभिन्न पहाडको मनोरम दृश्य नियाल्न सकिन्छ । त्यस्तै पृष्ठभूमिमा विभिन्न हिमाल रहेको हिले बजार आफैंमा मनोरम छ । यहाँ निर्माण गरिएको तोङ्वाको प्रतिमाले जोकोहीको मन लोभ्याउँछ । 

प्रतिक्रिया दिनुहोस्