दसैँको मुखमा खानेतेलको मूल्यवृद्धि



काठमाडौ,असोज ८ । नेपालीका ठुला चाडपर्व दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि भएको छ । पछिल्लो एक/डेढ साताको बिचमा खानेतेलको मूल्य प्रतिलिटर २० रुपियाँका दरले थोकमै वृद्धि भएको हो । 

यो मूल्य खुद्रामा पुग्दा अझै बढेको र यसको प्रत्यक्ष मार सर्वसाधारण उपभोक्तामा परेको छ । उपभोक्ताहरू मूल्यवृद्धिको मारमा परिरहे पनि सरकारी निकायले यसमाथि कुनै अनुगमन वा कारबाही अघि बढाएको छैन । 

पछिल्लो समयमा खानेतेलको मूल्यमा अस्वाभाविक वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसलाई नजिकबाट नियालिरहेको बताएको छ । 

विभागका महानिर्देशक राजन पौडेलले मूल्यवृद्धिको विषयलाई आफूले नियालिरहेको र केही तेल उत्पादक उद्योगसँग यस विषयमा सोधपुछ गर्ने काम पनि भइरहेको बताए  । 

बजारमा मूल्यवृद्धि हुनेबित्तिकै कारबाही गर्न नमिल्ने भन्दै विभागका महानिर्देशक पौडेलले भने, “मूल्य बढ्नासाथ कारबाही गर्ने अधिकार हामीसँग छैन । हामीहरू मूल्य बढेपछि त्यसको कारण पत्ता लगाउनेतर्फ लागेका छौँ ।” अनुगमनबाट अस्वाभाविक रूपमा मूल्यवृद्धि भएको पाइएमा कारबाहीको प्रक्रिया अगाडि बढाउने उहाँले बताए । 

यता उद्योगीहरू भने अन्तर्राष्ट्रिय बजारमा कच्चा सामग्रीको मूल्य बढेकाले खानेतेलको मूल्य बढाउनुपरेको तर्क गर्दै आएका छन् । उद्योगीहरूले पाम र भटमास तेलको मूल्यमा अस्वाभाविक मूल्यवृद्धि नभएको दाबी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्