मेलम्ची भ्रष्टाचार मुद्दाम पूर्वसचिव ठाकुरलाई ८ वर्ष १ महीना कैद, अरुलाई के छ?



काठमाडौं, असोज ८ । विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वसचिव गजेन्द्रकुमार ठाकुरलाई ८ वर्ष १ महीना कैद सजाय तोकेको छ । 

विशेषका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको सोमवारको इजलासले उक्त सजाय तोकेको हो । उक्त मुद्दामा दोषी ठहर भएका बाँकी ३ जनामध्ये तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेललाई ८ वर्ष १ महीना र परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मालाई ६ वर्ष १ महीना कैद तोकिएको छ । 

विशेषले गत भदौ २४ गते उक्त मुद्दामा ४ जनालाई दोषी ठहर गरेको थियो । उक्त मुद्दामा दोषी ठहर गरिएकाको आज कैद सजाय तोकिएको हो । 

उक्त मुद्दामा ठाकुर र कँडेलसँग जनही १० करोड १० लाख ६१ हजार रुपैयाँ तथा देवकोटा र शर्मासँग जनही २ करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ बिगो असुल गर्न अदालतले आदेश दिएको छ ।

विशेषले परामर्शदाता कम्पनी इप्टिसा र बेट्ससँग जनही ६ करोड २१ लाख ९३ हजार ५९६ रुपैयाँ बिगो असुल्न आदेश दिएको छ । यस्तै, इटालियन ठेकेदार कम्पनी सीएमसीलाई २६ करोड ११ लाख बिगो असुल्न आदेश दिएको छ ।  

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन अध्यक्षहरू डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय र मुकुन्दप्रसाद पौडेलले सफाइ पाएका छन् । समितिका तत्कालीन सदस्य रुद्रसिंह तामाङ, चन्द्रबहादुर थापा र कार्यकारी निर्देशक घनश्याम भट्टराईले पनि सफाइ पाए ।

प्रतिक्रिया दिनुहोस्