अवैध आयात बढेपछि भन्सारले शुरु गर्‍यो राजस्व गस्ती



वीरगञ्ज,असोज ८  । वीरगञ्ज आसपासका सीमावर्ती क्षेत्रमा अनधिकृत आयात बढ्न थालेपछी वीरगञ्ज भन्सार कार्यालयले भन्सारको राजस्व गस्ती परिचालन गरेको छ । भन्सारले यसै हप्तादेखि भन्सार कर्मचारीहरूको गस्ती शुरु गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बताए । 

भारतसँगको खुला सिमाना दुरुपयोग गरी केही समययता बारा पर्साका नाकाहरूबाट अनधिकृत आयात बढेको छ । ‘मुख्य भन्सार आसपासका क्षेत्रबाट भारतीय बस्तुको अवैध आयात बढेपछि नियन्त्रणका लागि राजस्व गस्ती शुरु गरिएको हो । गस्ती परिचालन भएपछि अवैध रुपमा सामान भित्र्याउनको सक्रियता कम हुने अपेक्षा गरिएको छ,’ प्रमुख भन्सार प्रशासनका लामिछानेले भने । 

वीरगञ्ज नाकामा अवैध आयात नियन्त्रणका लागि सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ । सशस्त्र प्रहरीले भन्सारको मुख्य सडकबाट आवतजावत गर्ने सवारीका साधनहरूको निगरानी र चेकजाँच गर्दै आएको छ । सशस्त्र प्रहरी बलले विभिन्न स्थानमा छापा मारेर अनधिकृत रुपमा भित्रिएका मालसामान बरामद गर्दै आएको छ । 

नेपाल प्रहरीले पनि बेलाबेलामा यस्तो मालसामान पक्राउ गरिरहेको हुन्छ । भन्सार जाँचपास भएर निस्किएका ढुवानीका साधनसमेत समातेर राजस्व अनुसन्धान कार्यालयको जिम्मा लगाइएको ती निकायहरूले बताउने गरेका छन् । तर, प्रहरीले बुझाएका यस्ता मालसामान चेकजाँच अधिकांशको कैफियत फेला नपरेको दाबी राजस्व अनुसन्धानका अधिकारीले गर्दै आएका छन् । 

स्वदेशी बजारभन्दा भारतीय सीमावर्ती क्षेत्रमा सस्तो पाइने मालसामानको अवैध आयात हुने गरेको भन्सार अधिकारीहरू बताउँछन् । भारतमा न्यून कर लगाइएका अधिकांश दैनिक उपभोग्य बस्तु अवैध तरिकाले भित्र्याउने गरिएको छ ।

चामल, तेल, दलहन, आलु, प्याज, मसाला, काजु, चिनी, कपडा, स्टिलका भाँडा, मोटरपार्टस्, हार्डवेयर सामान लगायतका सामग्री भन्सार छलेर भित्रिने गरेको प्रहरीले बेलाबेलामा समात्ने सामानको प्रकृतिले देखाउने गरेको छ । सरकारले दैनिक उपभोग्य बस्तुको आयातमा उच्च दरको भन्सार राजस्व लिने नीति लिएपछि भारतबाट आउने यस्ता अधिकांश सामान अवैध बाटोबाट भित्र्याउने गरिएको हो । 

अनुसन्धानका निकायको ‘मिलेमतो’ !

भन्सार छलेर वीरगञ्ज र आसपासका क्षेत्रका विभिन्न स्थानका व्यापारिक गोदाममा थुपारिएका मालसामान स्थानीय ढुवानी कम्पनीबाट काठमाडौंसम्म पुर्‍याउने गरिएको एक ढुवानी व्यवसायीले बताए । मुख्य नाका वीरगञ्जबाट हुने ढुवानीका साधनमा हुने अवैध कारोबारको निगरानीका लागि बाराको पथलैयामा प्रधानमन्त्री कार्यालयमातहत राजस्व अनुसन्धान कार्यालय पनि खटाइएको छ । 

चुहावट नियन्त्रण प्रभावकारी हुन नसकेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि प्रकट गरिरहेका बेला अवैध रुपमा भित्रिएको मालसामान बोक्ने ढुवानी कम्पनीको रुपमा बदनाम केही कम्पनीले राजस्व अनुसन्धानकै कर्मचारीलाई मिलाएर त्यस्तो सामान मुख्य बजार मानिएको काठमाडौं उपत्यकासम्म पुर्‍याउने गरेको एक अधिकारीले बताए । 

राजस्व अनुसन्धानका एक उच्च अधिकारीका अनुसार यस्ता व्यवसायीले भन्सारबाट छुटेका र वीरगञ्जमा लोड भएका गाडीका लागि निश्चित रकम तय गरी राजस्व अनुसन्धान कार्यालय पथलैयाका कर्मचारीको सहयोगमा यस्तो मालसामान गन्तव्यसम्म पुर्‍याउने गरेका छन् । यसबारेमा प्रमुख अनुसन्धान अधिकृत बैकुण्ठप्रसाद सापकोटालाई पटकपटक फोन गर्दा उनले फोन उठाएनन् । 

अनुसन्धानको चुहावट नियन्त्रण प्रभावकारी नभएको भन्दै सरकाले हालै भन्सार र आन्तरिक राजस्व विभागका उच्चतहका कर्मचारीको संयोजनमा २ ओटा द्रुत गस्ती टोलीसमेत बनाएको छ । 

प्रतिक्रिया दिनुहोस्