छविलाल जोशीलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति



पोखरा,असोज ७ । जिल्ला अदालत कास्कीले सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेको छविलाल जोशीलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको छ । सोमबार जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले पाँच दिन थुनामा राख्न अनुमति दिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए ।

गोर्खा मिडिया नेटवर्क प्रालिका शेयरधनी ५९ वर्षीय जोशीलाई १० दिन म्याद थप्न माग गर्दै कास्की प्रहरीले सोमबार दिउँसो अदालतमा उपस्थित गराएको थियो । जोशीविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्नुपर्ने प्रहरीको माग छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४, नालाको मुखमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा पक्राउ गरिएका जोशीलाई आइतबार राति पोखरा ल्याइएको थियो । प्रहरीले आइतबार दिउँसो काठमाडौँको शङ्खमुलबाट नियन्त्रणमा लिएपछि थप अनुसन्धानका लागि जोशीलाई राति ९ः३० बजे हवाईजहाजमार्फत पोखरा ल्याइएको थियो ।

गोरखा मिडिया प्रालिले चलाएको ग्यालेक्सी फोरके टेलिभिजनमा गैरकानुनी रूपमा सहकारीको रकम लगानी भएको संसदीय छानबिन समितिको निष्कर्ष छ । समितिले प्रतिवेदन सरकारलाई बुझाएपछि आइतबार गृहमन्त्री रमेश लेखकले प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।

जोशी निवृत्त प्रहरी नायब महानिरीक्षक(डिआइजी) समेत हुन । केही महिनाअघि कास्की प्रहरीले जोशीकै घरमा छापा मारी सूर्यदर्शन सहकारी र टेलिभिजनका कागजात नियन्त्रणमा लिएको थियो ।

काठमाडौँ महानगरपालिका वडा नम्बर १, नक्साल बस्ने जोशी विदेश जान लागेको गोप्य सूचना पाएपछि कास्की प्रहरीको अनुरोधमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेका थियो ।

संसदीय छानबिन समितिले सहकारीको रकम दुरुपयोगमा सूर्यदर्शनका अध्यक्ष थानबहादुर बुढा, पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीवी) राई, जीविका दाजु भूपेन्द्र राई, सदस्य कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्धक निर्देशक रवि लामिछाने लगायतलाई कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

अभियुक्तमध्ये पाँच जना पुर्पक्षका लागि थुनामा छन् । १९ जनालाई विपक्षी बनाइएकोमा अझै १३ जना फरार छन् । २०८० साउन २२ गते १९ जनाविरुद्ध प्रहरीले जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो । त्यसयता सहकारी पीडितको आन्दोलन र पूरक जाहेरीपछि प्रहरीले सूर्यदर्शनबारे थप अनुसन्धानसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्